अग्रगामी शक्तिले नै विकल्प दिनुपर्छ : अध्यक्ष डा भट्टराई

  जेठ ०१, २०८०

काठमाडौँ, १ जेठ : नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अग्रगामी प्रगतिशील शक्तिले समायानुकूल रुपान्तरित भएर विकल्प दिन सक्नुपर्ने बताउनुभएको छ । ५९औँ विद्यार्थी दिवसका अवसर पारेर आज यहाँ आयोजित कार्यक्रममा उहाँले वामपन्थी समाजवादी शक्तिले आफूलाई रुपान्तरण गरेमात्र जनताको अपेक्षा पूरा गर्न सकिने बताउनुभयो ।

“हामीले समाजवादी विकल्प दिन सक्यौँ भने जनताको आशा अपेक्षा पूरा गर्न सकिन्छ । हिजोकै गाथा गाइरह्यौँ, वितगकै जस्तो व्यवहार देखाउन थाल्यौँ र सत्तामा गएर भ्रष्टीकरण भयौँ र तिनको प्रतिरक्षामा लाग्यौँ भने आगामी दिनमा जनताले हामीलाई नकार्ने छन्”, उहाँले भन्नुभययो ।

वर्तमान अवस्थामा मुलुक अग्रगमन र पश्चगमनको बीचमा मडारिरहेको जनाउँदै उहाँले आगामी केही वर्ष धेरै गम्भीर हुने देखिएको आँकलन गर्नुभयो । मुलुकमा देखिएको बेथिती अन्त्य गर्न आफूहरुले राजनीतिक तवरमा छलफल गरिरहेका उहाँको भनाइ छ ।

“फेरि पनि हामीले आफूलाई रुपान्तरण गरेर अग्रगामी राननीतिक विकल्प दिन्छौँ । युवा विद्यार्थीले पनि भ्रष्टाचार, बेथिती, बेरोजगारी, शिक्षा, स्वास्थ्यलगायतका मुद्दा उठाएर नेतृत्व गर्नुपर्छ”, उहाँले भन्नुभयो । संविधानमा स्वास्थ्य, शिक्षा, रोजगारीलगायत नागरिक अधिकारलाई मौलिक हकका रुपमा व्यवस्था गरिएको भए पनि अझै नागरिक मौलिक हक प्राप्त गर्नबाट वञ्चित भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया