नक्कली भुटानी शरणार्थी प्रकरण : दोषीलाई कानुनी दायरामा ल्याउन माग

  जेठ ०१, २०८०

काठमाडौँ, १ जेठ : सांसदहरुले भुटानी शरणार्थी प्रकरणका दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उहाँहरुले नक्कली भुटानी शरणार्थी बनाएर अर्बभन्दा बढी आर्थिक घोटाला गर्ने कार्यमा संलग्नलाई उचित छानबिन गरी कडाभन्दा कडा कारबाही गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

सांसद हितराज पाण्डेलले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयले देश तातेको र सरकारले दृढताका साथ यो विषयलाई अगाडि बढाएकोप्रति जनतामा आशा जागेको भन्दै दोषीलाई कारबाही गरेर जनताको आशालाई विश्वासमा परिणत गर्न सरकार समक्ष माग गर्नुभयो । उहाँले हेटाँैडा, गोरखकाली उद्योगलगायतलाई सञ्चालनका लागि बजेटमा व्यवस्था गर्न पनि माग गर्नुभयो ।

सांसद डा स्वर्णिम वाग्लेले भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्नुभयो । उहाँले भ्रष्टाचारका लागि सार्वजनिक पदको दुरुपयोग हुने गरेको र त्यसको उदाहरण तनहुँका दर्जनाँै आयोजना अलपत्र परेको, बनेका सडक पनि गुणस्तरहीन भएको भन्दै राष्ट्रिय भौतिक विकासको औचित्वमा बहस गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

सांसद ज्ञानु बस्नेत सुवेदीले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई उचित छानविन गरी दोषीलाई कडा कारबाही गर्न माग गर्नुभयो । उहाँले भ्रष्टाचारलाई निर्मूल गर्न आम नेपालीको एकता चाहिने भन्दै विगतका भ्रष्टाचारको पनि छानबिन गरिनुपर्ने बताउनुभयो ।

सांसद सुनिता बरालले भ्रष्टाचारले राजनीति क्षेत्रमा पनि वितृष्णा पैदा गरेको भन्दै भ्रष्टाचारसम्बन्धी विद्यमान कानुन संशोधन गरी दोषीलाई उम्कने वातावरण नबनाउन माग गर्नुभयो । सांसद सूर्यप्रसाद ढकालले समाजका हरेक क्षेत्रमा भ्रष्टाचार मौलाएको भन्दै विसं २०५८ देखि हालसम्मका सबै क्षेत्रका उच्चतहका अधिकारीमाथि छानबिन गर्न उच्च उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभयो । सांसद सोनु मुर्मुले भ्रष्टाचार र अनियमितताले देशको बदनाम भइरहेको भन्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्नुभयो ।

सांसद बिजुला रायामाझीले भ्रष्टाचारीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्नुभयो । उहाँले शिक्षा क्षेत्रका सबैखाले समस्याको समाधान खोज्न नीतिगत सुधार गरिनुपर्ने बताउनुभयो ।

सांसद विद्या भट्टराईले गाईभँैसीमा देखिएको लम्पी स्किनका कारण पशुहरु मरिरहेको र यस घटनाले किसानलाई चिन्तित बनाएको भन्दै सङ्क्रमण रोकथाम तथा पीडित किसानलाई राहत उपलब्ध गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । साथै उहाँले पोखरा हङ्कङ बजारका साना व्यवसायीलाई राहत उपलब्ध गराउन माग गर्नुभयो ।

रासस

तपाईको प्रतिक्रिया