शिशु बुद्धलाई लुम्बिनीबाट तिलौराकोट लगियो

  बैशाख २३, २०८०

 

रुपन्देही, २३ वैशाख : मायादेवीले सिद्धार्थ गौतमलाई लिएर तिलौराकोट दरबार फर्कँदै गर्दाको प्रतीकका रूपमा लुम्बिनीबाट शिशु बुद्ध कपिलवस्तुको तिलौराकोट लगिएको छ ।

लुम्बिनीमा जन्मिनुभएका सिद्वार्थ गौतमलाई बुद्धपूर्णिमाको अर्को दिन लुम्बिनीबाट गृहनगर प्राचीन कपिलवस्तु लगिएको थियो । त्यही दिनको प्रतीकका रूपमा आज लुम्बिनीबाट सिद्वार्थलाई तिलौराकोट दरबार लगिएको हो । लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यलाई शिशु बुद्ध ९बोधिसत्व सिद्वार्थ०को धातुको मूर्ति हस्तान्तरण गरी प्राचीन तिलौराकोट दरबार पठाइएको हो ।

बुद्धकी आमा मायादेवी माइतीघर जाँदा लुम्बिनीमा जन्मेका बुद्धलाई गृहनगर तिलौराकोट फर्कँदाको क्षणलाई स्मरण गरी बोधिसत्व बुद्धको मूर्तिको शोभायात्रा गरिएको कोषका सदस्यसचिव शाक्यले बताउनुभयो । लुम्बिनी विकास कोषले विगतका वर्षमा रथयात्रा गरी शिशु बुद्धलाई कपिलवस्तुको तिलौराकोट लैजाने कार्यक्रम गरे पनि यो वर्ष भने गाडीमै पठाइएको छ ।

बुद्धका पिता राजा शुद्धोधनले छोरा राजकुमार सिद्धार्थ जन्मिएपछि कपिलवस्तुको तिलौराकोटबाट बाजागाजासहित लिन सेना पठाउनुभएको थियो । त्यही दिनको सम्झनास्वरूप लुम्बिनी विकास कोषले केही वर्षयता बुद्ध जयन्तीको अर्को दिन शिशु बुद्धलाई लुम्बिनीबाट तिलौराकोट लैजाने गरिएको छ ।

बौद्ध ग्रन्थअनुसार मायादेवी गर्भवती भएपछि माइत देवदह जाने इच्छा गर्नुभएको थियो । रमणीय बगैँचा लुम्बिनी पुगेपछि डोेलीबाट ओर्लिएर प्राकृतिक सौन्दर्यको आनन्द प्राप्त गर्न नपाउँदै सुत्केरी व्यथा लागेपछि अशोकको वृक्ष समातेर राजकुमार सिद्धार्थलाई जन्म दिनुभएको थियो । यो खबरले तिलौराकोट, कपिलवस्तु सहर र देवदहमा हर्षोल्लास भयो र सिङ्गो कपिलवस्तु सहर सिङ्गारेर चिटिक्क पारिएको थियो ।

 

तपाईको प्रतिक्रिया