हिमाली जिल्लामा हात्तीपाइले रोगको परीक्षण

  बैशाख १८, २०८०

जुम्ला, १८ वैशाख : जुम्लालगायत हिमाली जिल्लामा हात्तीपाइले रोगको परीक्षण गर्न थालिएको छ । जलवायु परिवर्तनसँगै हिमालको तापक्रम बढ्दै गएका कारण उच्च हिमाली जिल्लामा लामखुट्टे देखिन थालेपछि औलो र कालाजारका बिरामी भेटिन थालेका छन् ।

विकास सँगसँगै गाडीमा लामखुट्टे हिमाली जिल्लामा जान थालेपछि यहाँका जिल्लामा औलो फैलिन थालेको हो । पहिला तराई र पहाडका जिल्लामा देखिने हात्तीपाइले, औलो र कालाजार रोग जलवायु परिवर्तनका कारणले हिमाली जिल्लामा देखिन थालेको स्वास्थ्य क्षेत्रका जानकारहरूले बताएका छन् ।

जुम्लाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा हात्तीपाइले रोग परीक्षण गर्न थालिएको छ । नेपाल सरकार स्वास्थ तथा जनसङ्ख्या मन्त्रालय, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा, मकवानपुरले राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत परीक्षण गरिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

जिल्लाको कनकासुन्दरी गाउँपालिकास्थित कालिका आधार विद्यालय हाँटसिञ्जा र पाण्डवगुफा माध्यमिक विद्यालयका ३२ विद्यार्थीको एन्टिजेन परीक्षण गर्दा सबै जनाको नेगेटिभ नतिजा आएको छ । मालिका आधारभूत गतिखोला र माध्यामिक विद्यालय बुढुचौताराका विद्यार्थीमा पनि परीक्षण गर्ने तयारी गरिएको कानकासुन्दरी गाउँपालिका स्वास्थ्य शाखा संयोजक जङ्गलाल बुढाले बताउनुभयो । यहाँका ३२ सामुदायिक विद्यालयका चार सय ८० बालबालिकामा हात्तीपाइले रोग परीक्षण गर्न थालिएको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।

तपाईको प्रतिक्रिया