सिञ्जा गाउँपालिका पूर्ण खोप सुनिश्चितता

  बैशाख १०, २०८०

जुम्ला, १० वैशाख : जुम्लाको सिञ्जा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । पालिकाभित्रका छवटै वडाका खोप लगाउने उमेर समूहका सम्पूर्ण बालबालिकालाई खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।

पूर्ण खोप जिल्ला घोषणा भए पनि शून्यदेखि २३ महिनाभित्रका बालबालिका पूर्ण खोप पाए नपाएको सुनिश्चित गर्नका लागि हरेक वर्ष खोप सुनिश्चिता गर्नुपर्ने व्यवस्था रहेको सिञ्जा गाउँपालिका स्वास्थ्य शाखा संयोजक ललित रोकायाले जानकारी दिनुभयो । खोप लगाएपछि धेरै किसिमका रोगबाट बच्ने भएकाले हरेक बालबालिका नछुटाएर खोप लगाउनुपर्ने हुन्छ । खोप नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको गरिएको छ । स्वास्थ्य शाखाप्रमुख रोकायाले भन्नुभयो, “अहिले बालबालिका खोज र खोप भन्ने नीति रहेको छ ।”

कुनै पनि खोप लगाउने उमेर समूहका बालबालिका खोपबाट वञ्चित हुनु हुँदैन भन्ने मान्यता गाउँपालिकाको रहेको छ । पालिकाको वडा नं १ धाँपा स्वास्थ्य चौकीमा शून्यदेखि १५ वर्षसम्मका ४१ र १६ देखि २३ महिनासम्म ४६ जनालाई पूर्ण खोप लगाइएको छ । वडा नं २ आधारभूत स्वास्थ्य केन्द्र विष्ट वडामा शून्यदेखि १५ महिनासम्मका २९ र १६ देखि २३ महिनासम्मका ३१ जनालाई पूर्ण खोप लगाएको हो ।

वडा नं ३ नरोकोट स्वास्थ्य चौकीमा शून्यदेखि १५ महिनासम्मका ४३ र १६ देखि २३ महिनासम्मका ४५ जनालाई खोप लगाएको सिञ्जा गाउँपालिका स्वास्थ्य शाखाका संयोजक रोकायाको भनाइ छ । पालिकाको आधारभूत स्वास्थ्य केन्द्र देवीडाँडामा शून्यदेखि १५ महिनासम्मका १४ र १६ देखि १६ महिनासम्मका २६ र १६ देखि २३ महिनासम्मका ३३ बालबालिकालाई पूर्ण खोप लगाएको छ । शनिगाउँ स्वास्थ्य चौकीमा शून्यदेखि १५ महिनासम्मका ३५ र १६ देखि २३ महिनासम्मका ४१ बालबालिकालाई खोप लगाएको हो ।

आधारभूत स्वास्थ्य केन्द्र दातमा शून्यदेखि १५ महिनासम्मका ३८ र १६ देखि २३ महिनासम्मका ४० जनाले खोप लगाएका हुन् । शून्यदेखि १५ महिनाका दुई सय १२ र १६ देखि २३ महिनासम्मका दुई सय ३७ गरी चार सय ४९ जनालाई पूर्ण खोप लगाएर पूर्ण खोप सुनिश्चिता पालिका घोषणा गरिएको सिञ्जा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताउनुभयो ।
रासस

तपाईको प्रतिक्रिया