मधेशमा ‘होमस्टे’को सम्भावना खोजिँदै

  चैत २६, २०७९

महोत्तरी, २६ चैत : पहाडी र हिमाली जिल्लामा फस्टाएको होमस्टे ९घरबास० को मधेशमा पनि सम्भावना खोजिँदैछ । महोत्तरीको बर्दिबास–१४ मा स्थापना भएको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान ९नाथम०, बर्दिबास शाखाले यसको सम्भावनाबारे अध्ययन थालेको छ ।

नाथम बर्दिबास शाखाका प्रमुख शिवेन्द्र मल्लिकले गौशाला–८ बेलगाछीमा घरबासको सम्भावना रहेको बताउनुभयो । प्रारम्भिक चरणमा बर्दिबास वरपर घरबास सञ्चालनका लागि पूर्वाधार विकास गर्न विद्यार्थी, स्थानीय जनप्रतिनिधि र व्यवसायप्रति इच्छा भएकालाई नवलपरासीको अमरटारी र कास्कीको लुवाङ् होमस्टे अभ्यासको स्थलगत अध्ययन अवलोकन गराइएको उहाँले बताउनुभयो ।

नवलपरासी र काश्कीका घरबासको अध्ययन अवलोकनपछि गौशाला–८ का वडाअध्यक्ष भोजबहादुर दर्लामीले महोत्तरीमा पनि अभ्यास सफल हुने उल्लेख गर्नुभयो । “बस्ती नजिकै टुटेश्वरनाथ, पञ्चधुरा माईस्थान, राईमण्डलसहितका प्रसिद्ध तीर्थस्थल छन्” दर्लामीले भन्नुभयो, “घरबास सञ्चालनसँग जोडेर यी तीर्थस्थलको पर्यटकीय पूर्वाधार विकासका काम अघि बढाइनुपर्दछ ।”

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको, नजिकै सघन वनक्षेत्र र प्रसस्त खोल्साखोल्सी एवम जलाधार क्षेत्र रहेकाले उक्त ठाउँ पर्यटकको रोजाइमा पर्ने दर्लामी बताउनुहुन्छ । नाथमसँगै गौशाला र बर्दिबास नगरपालिकाले सो कार्यका लागि पहलकदमी लिनुपर्ने उहाँको भनाइ छ । घरबासका लागि प्रस्तावित ठाउँ गौशालामा परे पनि टुटेश्वरनाथ, पञ्चधुरा माईस्थान र राईमण्डल बर्दिबास नगरपालिकामा पर्छन् ।

बेलगाछीमा घरबास र बर्दिबासमा धार्मिकस्थल रहेकामा दुबै नगरपालिकाले समान चासो लिनुपर्ने गौशाला–१ का सन्तबहादुर आलेको भनाइ छ । बर्दिबास प्रदेशकै शैक्षिक केन्द्रका रुपमा चिनिन्छ । यसबाहेक बर्दिबास–सिन्धुली–बनेपा सडक ९बिपी राजमार्ग०, बर्दिबास–जलेश्वर र बर्दिबास–गौशाला–सम्सी सडकको चौरस्ताचोकसमेत भएकाले बर्दिबास व्यापारिक कारोबारको केन्द्र बन्दैछ ।

विभिन्न भाषा, संस्कृति र धर्म परम्पराको विविधता पनि बर्दिबासमा देख्न पाइन्छ । बर्दिबास ९बर्दिबासचोक० र बेलगाछीबीचको दूरी झण्डै सात किलोमिटर रहेकाले बर्दिबासमा धार्मिक, शैक्षिक, व्यापारिक र अवलोकन भ्रमण प्रयोजनसँग जोडेर हुँदै आएको सघन आवतजावतलाई बेलगाछी होमस्टेसँग जोड्न सकिन्छ । त्यसैले घरबासको सम्भावनातिर पहलकदमी बढाइएको नाथम बर्दिबास शाखाले जनाएको छ ।

विसं २०७७ मा मुख्यतः वैदेशिक रोजगारमा जानसक्ने सैद्धान्तिक र व्यावहारिक ज्ञान भएको दक्ष जनशक्ति मधेशमा बढाउन नाथमले बर्दिबासमा शाखा स्थापना गरेको हो । यस क्रममा नाथमले यहाँ स्नातक तहमा हस्पिटालिटी म्यानेजमेन्टको पठनपाठन गराउँदैछ । त्यसैले नाथमले बेलगाछीमा घरबास सञ्चालनका लागि चासो दिएको हो । हाल यहाँ १७ जना अध्ययनरत रहेका नाथम बर्दिबास शाखा प्रमुख मल्लिकले बताउनुभयो ।

“आउँदो शैक्षिक सत्रदेखि विद्यार्थीको चाप बढ्छ”, उहाँले भन्नुभयो । पछिल्लो समय बढ्दो शैक्षिक बेरोजगारी सीपसहितको व्यावसायिक शिक्षाले घटाउने मल्लिक बताउनुहुन्छ । रासस

तपाईको प्रतिक्रिया