ताप्लेजुङमा औद्योगिक कृषि तथा पर्यटन मेला सुरु हुँदै

  चैत २०, २०७९

ताप्लेजुङ, २० चैत : ताप्लेजुङमा भोलिदेखि पाँच दिने औद्योगिक कृषि तथा पर्यटन मेला र प्रदेशस्तरीय अर्गानिक महोत्सव सुरु हुँदैछ । घरेलु उत्पादनको प्रवर्द्धन र पर्यटन विकासमा सहयोग पु¥याउने उद्देश्यले मेला तथा महोत्सवको आयोजना गरिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङले जनाएको छ । भोलिदेखि सञ्चालन हुने महोत्सव आगामी शनिबारसम्म सञ्चालन हुनेछ ।

“उद्यम गरी स्वरोजगार बनौँ, पर्यटन प्रवर्द्धनमा टेवा पु¥याऔँ” भन्ने नारासहित आयोजना हुने मेलामा कोशी प्रदेशभरका व्यावसायिक कृषि तथा औद्योगिक उत्पादनको प्रदर्शनी तथा व्यापार, डोको क्यारी रन, डोको बुन्ने, फोटो प्रदर्शनी, कविता वाचनसहित बृहत् सांस्कृतिक कार्यक्रम हुने आयोजक नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष राजेन्द्र भारतीले आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।

सदरमुकाम फुङलिङमा हुने मेला तथा महोत्सवले व्यावसायिक उत्पादनको बजारीकरण एवं पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने आयोजकको विश्वास छ । विभिन्न जातजातिको परम्परा, संस्कार संस्कृति, व्यावसायिक उत्पादनको प्रदर्शनीले सांस्कृतिक आदानप्रदान हुनुका साथै उत्पादनको बजारीकरणमा सहयोग पुग्ने अध्यक्ष भारतीले बताउनुभयो । परम्परा तथा पेशा व्यसायको प्रत्यक्ष अवलोकनका साथै फोटो प्रदर्शनसहितका गतिविधिले पर्यटकीय गन्तव्यको पहिचान र प्रचारप्रसार हुने भारतीको भनाइ छ ।

महोत्सवको पहिलो दिन भोलि बिहान झाँकी ¥यालीसहित बजार परिक्रममा हुने र सोपछि दिउँसो १ बजे उद्घाटन कार्यक्रम छ । मेला, महोत्सवभर हरेक दिन औद्योगिक उत्पादन, कृषि उत्पादन, फोटो, पुस्तक प्रदर्शन तथा खाद्य महोत्सवसहित सांस्कृतिक कार्यक्रम हुने छन् भने अन्तिम दिन डोको क्यारी रन सञ्चालन हुनेछ । गजलकार सुमन स्मारिका, कलाकार रमेश प्रसाईं, प्रीति आलेसहितका चर्चित कलाकारको प्रस्तुति रहने जनाइएको छ ।

यसअघि गत वर्षको जेठमा सदरमुकाम फुङलिङमा औद्योगिक मेला आयोजना भएको थियो । यो वर्ष आयोजना हुने मेला तथा महोत्सवको सहआयोजकमा फुङलिङ नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङ, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ कोशी प्रदेश रहेका छन् । रासस

तपाईको प्रतिक्रिया