खाली गरियो ट्राफिक प्रहरीको पार्किङ

  चैत १२, २०७९

विराटनगर, चैत १२ : मुख्य बजार क्षेत्रको सडकलाई पार्किङ निषेध गर्ने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले ट्राफिक प्रहरीको पार्किङसमेत खाली गराएको छ ।

महानगरका प्रमुख नागेश कोइरालाको उपस्थितिमा नगर प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि सडक र फुटपाथमा ट्राफिक प्रहरीले राखेका सवारी साधनहरू हटाएको हो ।

ट्राफिक प्रहरी कार्यालयअगाडि सवारी पार्किङ गर्दा आवतजावतमा समस्या भएको भन्दै महानगरमा अत्यधिक गुनासो आएपछि प्रमुख कोइराला आफैँ उपस्थित भएर पार्किङ गरेका सवारी हटाउन लगाउनुभएको हो ।

महानगर प्रहरीसहित पुगेका प्रमुख कोइरालाले सडक र फुटपाथमा पार्किङ गरेका सवारीलाई तत्काल हटाउन निर्देशन दिएपछि सडकमा राखेका मोटरसाइकल नगर प्रहरीले हटाएको थियो भने चारचक्के सवारी साधन ट्राफिक प्रहरी आफैँले हटाएको थियो ।

कारबाहीमा परेका सवारी साधनलाई ट्राफिक प्रहरीले कार्यालय अगाडिको सडक र फुटपाथमा वर्षौँदेखि राख्दै आएको थियो । महानगरले मुख्य बजार क्षेत्रलाई पार्किङ निषेध गरेकाले ट्राफिक प्रहरी कार्यालय अगाडिको सडकमा पार्किङ गर्दा गलत सन्देश जाने भन्दै ट्राफिक प्रमुख सुनिलकुमार श्रेष्ठलाई प्रमुख कोइरालाले अबदेखि पार्किङ नगर्न आग्रह गर्नुभयो ।

नियम कानुन सबैलाई बराबर लाग्ने भन्दै प्रमुख कोइरालाले विराटनगरलाई व्यवस्थित बनाउने अभियानमा आफूहरू लागेको सुनाउनुभयो । “सडकमा सवारी नराख्न आग्रह गरिसकेको छु । अबदेखि यहाँ सर्वसाधारणले सवारी पार्किङ भएको देख्नु हुनेछैन,” प्रमुख कोइरालाले भत्रुभयो, “ट्राफिक प्रहरी कार्यालय अगाडिलाई नो पार्किङ किन नगरेको भनेर धेरैले गुनासो गर्नुभयो । कतिले त ‘सानालाई ऐन ठूलालाई चैन हो कि के हो मेयर साब’ भन्नुभयो । विराटनगरमा नियम कानुन सबैलाई बराबरी लाग्छ ।”

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सुनिलकुमार श्रेष्ठले ठाउँ अभावका कारण विगतदेखि नै राख्दै आए पनि अबदेखि व्यवस्थित गर्ने प्रतिबद्धता जनाउनुभयो ।

तपाईको प्रतिक्रिया