साना व्यापारमा हरवाचरवा महिला

  चैत १०, २०७९

सप्तरी,चैत १० : सप्तरीको रुपनी गाउँपालिका–१ रायपुरकी सुनैरदेवी सदालाई अचेल बिहान हुनेबित्तिकै पसल खोल्न हतारो हुन्छ । गाउँबस्तीका धेरैजसो मानिस बिहान उठ्नेबित्तिकै घरको काममा व्यस्त हँुदा सुनैरदेवीलाई भने कतिबेला पसल खोलेर सामान बेच्ने भन्ने हतारोमा हुन्छ ।

बस्ती नजिक रहेको कन्छु नरप्रताप माविको छेउमा खोल्नुभएको किराना पसल चलाउने उहाँको दैनिकी नै बनेको छ । न्यून पूँजीमा सुरु गरेको किराना पसल अहिले उहाँको परिवार पाल्ने मुख्य माध्यमसमेत बनेको छ । केही वर्षअघिसम्म दुई छाक कसरी टार्ने भन्ने चिन्ताले पिरोलिएकी सदाको अब भन्ने त्यो दुःखको दिन गएको छ ।

पूँजी अभावमा आर्थिक उन्नति गर्ने सोच नबनाएकी सदा अहिले किराना व्यापार गरेर राम्रो आम्दानी गर्न थालेपछि उहाँको दुःखका दिन गएको हो । गाउँको साहुमा हरवाचरवाको काम गरी जीविकोपार्जन गर्दै आउनुभएकी उहाँको परिवारमा केही वर्षअघिसम्म दुःखको पहाड लागेको थियो । तर ऋण लिएर गाउँमै किराना पसल खोलेपछि दुःख विस्तारै हराउन थालेको सदा बताउनुहुन्छ ।

“केही नगरी जीवनस्तर उकास्न सकिन्न भन्ने बुझेर दुई वर्षअघि न्यून पूँजीमा किराना पसल सञ्चालन गरेँ, अहिले जीवनमा ठूलो परिवर्तन आएको छ”, उहाँ भन्नुहुन्छ, “व्यापार गर्ने इच्छा भएर पनि पूँजी आभावका कारण त्यसले मूर्तता पाउन सकेको थिएन, तर विसं २०७८ मा द फ्रिडम फन्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको हरवा चरवा सशक्तीकरण अभियान कार्यक्रमअन्तर्गत गठित रुपनी हरवाचरवा बचत तथा ऋण समूहबाट रु १० हजार ऋण लिएर व्यापार सुरु गरेपछि मेरो सपना साकार भएको छ ।”

यस्तै सोही ठाउँकी पम्पादेवी सदालाई पनि अचेल तरकारी खरिद बिक्री गर्न भ्याननभ्याइ हुन्छ । सामान्य लेखपढ गर्नसमेत नजानेकी पम्पादेवीलाई बिहान हुनेबित्तिकै तरकारी कहाँबाट खरिद गरेर ल्याउने र नजिकको सहरबजारमा कतिबेला पु¥याउने भन्ने हतारो हुन्छ ।

एक वर्षअघिसम्म पूँजीको आभावमा आयआर्जनको कुनै काम गर्न नसकेकी उहाँले अहिले भने गाउँ नजिकैको सहरबजारमा तरकारी खरिद बिक्री गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ । आयआर्जनको गतिलो आधारसँगै पम्पादेवीको जीवनमा परिवर्तन मात्र होइन, परिवारको पहिचानसमेत फेरिएको छ ।

आयआर्जनको ठोस आधार नपाउँदा केही वर्षअघिसम्म गाउँकै साहुमहाजनकहाँ बनिबुतो गर्दै आएको विगत सम्झिँदै पम्पादेवी भन्नुहुन्छ, “पहिले हरवाचरवाका रूपमा ज्याला मजदुरीमा सधैँ काम गरेर जीविकोपार्जन गरिरहेको थिएँ, बालबच्चालाई पालनपोषण गर्न धौ–धौ हुन्थ्यो, अहिले भने स्वतन्त्ररूपमा सानो व्यापार गरेर राम्रो आम्दानी हुन थालेको छ, जसका कारण सन्तुष्ट छु ।”

उहाँले दिनभरि ज्याला मजदुरीमा काम गर्दा थोरै मात्र ज्याला पाउनुहुन्थ्यो, त्यसबाट परिवार चलाउन समस्या हुन्थ्यो । “तर अब मेरो त्यो दुःखको दिन कटेको छ”, उहाँ भन्नुहुन्छ । अहिले तरकारी व्यापार गरेरै पाँच जना परिवारको गुजारा चलाउँदै आएको उहाँको भनाइ छ ।

सोही बस्तीकी नैनवतीदेवी सदाले पनि गाउँमै चटपटे पसल सञ्चालन गरी राम्रो आम्दानी गरिरहनुभएको छ । केही महिनाअघिसम्म साहुमहाजनकहाँ मजदुरी गर्दै आएकी नैनवतीलाई यतिबेला चटपटे बनाएर बिक्री गरी दैनिक रु चार सयदेखि पाँच सयसम्म कमाइ भइरहेको छ ।

आफ्नै घर अगाडि सञ्चालन गरेको चटपटे व्यापारले नैनवतीको मात्रै होइन, उहाँको सिङ्गो परिवार नै सुखी र खुसी बनेको छ । “परिवारका सदस्यको समेत राम्रै साथ पाएकी छु”, नैनवती भन्नुहुन्छ, “चटपटे व्यापार गरेर परिवारको गुजारा चलाउनुका साथै छोराछोरीको पढाइ खर्चसँगै परिवारमा आइपर्ने आर्थिक समस्या पनि समाधान गर्दै आएकी छु ।”
आर्थिक विपन्नता र चेतना अभावमा साहुमहाजनकहाँ श्रम गर्दै आएकी सुनैरदेवी, पम्पा र नैनवतीको जीवनमा आएको यो परिवर्तन कुनै चामत्कारिक शक्तिबाट नभई श्रीपुर्राज सामुदायिक विकास केन्द्रले द फ्रिडम फन्डको सहयोगमा सञ्चालन गरेको हरवा सशक्तीकरण कार्यक्रमबाट आएको हो ।

‘‘सुरु–सुरुमा म धेरै लजाउँथे, के गरौँ नगरौँ भन्ने थाहै थिएन, सधैँ मजदुरी गरेर जेनतेन परिवारमात्रै पाल्थेँ”, नैनवती भन्नुहुन्छ, “तर जब श्रीपुर्राज सामुदायिक विकास केन्द्रले गाउँमै हरवाचरवा परिवारलाई लक्षित गरेर कार्यक्रम सञ्चालन ग¥यो, तबदेखि हाम्रो जीवनमा परिवर्तन आयो ।”

द फ्रिडम फन्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको सामाजिक परिचालन तथा शिक्षाको माध्यमबाट हरवाचरवाको सशक्तीकरण कार्यक्रमअन्तर्गत गाउँकै महिलाको सक्रियतामा गठन भएको बचत तथा समूहमा आबद्ध भएका उहाँहरू त्यही समूहबाट ऋण लिएर व्यापार सुरु गरेको बताउनुहुन्छ ।

सिरहाको लहान, गोलबजार, धनगढीमाई तथा सप्तरीको वीरेन्द्र बजार, राजविराजबाट तरकारी खरिद गरी गाउँसँगै नजिकैको कठौना, ट्राफिक बजारलगायतको बजारमा तरकारी व्यापार गर्दै आएकी पम्पादेवी भन्नुहुन्छ, “अहिले त्यही तरकारी व्यापारबाट दैनिक रु पाँच सयदेखि रु सात सयसम्म कमाइ भइरहेको छ ।”

आफू आबद्ध भएको रुपनी हरवाचरवा बचत तथा ऋण समूहबाट रु पाँच हजार ऋण लिएर सुरु गरेको तरकारी व्यापार फस्टाउँदै गएपछि ऋण चुक्ता गरेर समूहमै बचत गर्दै आएको उहाँ बताउनुहुन्छ ।

साधारण लेखपढ गर्न मात्र जानेकी सुनैरदेवी समूहमा लागेपछि निर्धक्क बोल्न सक्ने मात्र होइन, आम्दानी गर्ने र बचत गर्ने बानीको समेत आफूमा विकास भएको बताउनुहुन्छ ।

सो समूहमा १८ महिला र २९ पुरुष गरी ४७ जना हरवाचरवा परिवारका सदस्य आबद्ध छन् । आबद्ध भएका हरेक सदस्यले मासिक रु एक सयका दरले बचतसमेत गर्दै आएका छन् ।

सदस्यले मासिकरूपमा गरेको बचत रकम रु १८ हजारभन्दा बढी पुगेको छ । बचत भएको रकम समूहकै सदस्यमा ऋण लगानी गर्ने गरिएको छ । यसबाट महिलामा बचतसँगै ऋण प्रवाहको समेत विकास भएको उहाँको बुझाइ छ ।

पछिल्लो केही वर्षयता हरवाचरवा दलित महिलामा आएको परिवर्तन र देखिएको उत्साहजनक सहभागिताले साकारात्मक सन्देश दिएको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता पूनम चौधरीको भनाइ छ । “केही वर्षअघिसम्म साहुमहाजनकहाँ मजदुरी गर्दै आएका हरवाचरवा परिवारका महिला विस्तारै साना व्यवसायमा हौसिँदै गएका छन्”, सहजकर्ता चौधरी भन्नुहुन्छ, “पछिल्लो समय उहाँहरूले देखाएको उत्साहबाट पाठ सिकेर अन्य महिला अघि बढ्न सके आर्थिकसँगै समाजिक क्षेत्रमा समेत ठूलो परिवर्तन आउन सक्छ ।”

तपाईको प्रतिक्रिया