समृद्ध प्रदेश निर्माणमा कार्यक्रम लक्षित छन् : मुख्यमन्त्री गिरी

  चैत ०९, २०७९

लुम्बिनी, चैत ९ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले समृद्ध प्रदेश निर्माणतर्फ प्रदेश सरकारका योजना र कार्यक्रम लक्षित गरिएको बताउनुभएको छ ।

लुम्बिनी प्रदेशका समृद्धिका आधारहरू तय गर्दा नै सहश्राब्दी दिगो विकास लक्ष्य हासिल गर्नेतर्फ केन्द्रित गरिएको भन्दै उहाँले राजनीतिक स्थायित्वमार्फत विकासको लक्ष्य हासिल गर्दै जाने बताउनुभयो ।

लुम्बिनी प्रदेशसभा सचिवालयको आयोजनामा रुपन्देहीको लुम्बिनीमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी प्रदेशसभा सदस्यको भूमिका विषयक अभिमुखीकरण कार्यक्रमको आज उद्घाटन गर्दै मुख्यमन्त्री गिरीले लुम्बिनी प्रदेश सरकारले दिगो विकास लक्ष्य हासिल गर्ने गरी योजनाबद्ध कार्यक्रम बनाइरहेको बताउनुभयो ।

कार्यक्रममा लुम्विनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरले दिगो विकास लक्ष्य पूरा गर्न सबैको भूमिका आवश्यक रहने र प्रदेशको पनि लक्ष्य निर्धारण गरी काम गरिने बताउनुभयो । दिगो विकास लक्ष्यअनुरुप प्रदेशको कानुन निर्माण गर्नुपर्ने धारणा राख्नुहँुदै उहाँले त्यसका लागि सोहीअनुसारको पहल गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

प्रदेशसभामा विपक्षी दलका नेता डिल्लीबहादुर चौधरीले नेपालका लागि सहयोग गर्ने दातृ निकायले जनतामुखी भएर योजना बनाउन सुझाव दिनुभयो । युनडिपीका आर्थिक सल्लाहकार धर्म स्वर्णकारले दिगो विकास लक्ष्यअनुसार काम गर्न नीति निर्माताको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । कार्यक्रममा पूर्वअर्थमन्त्री डा युवराज खतिवडा, अर्थविज्ञ डा स्वर्णिम वाग्लेले अभिमुखीकरणमा सहजीकरण गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया