धनकुटा, ९ चैत : धनकुटा नगरपालिकाले आफ्नो बजार क्षेत्रमा पर्यटक भित्र्याउन पुरानो पुस्ताको समयमा धरानबाट धनकुटासम्म नुन बोक्न प्रयोग गरिएको बाटोलाई पदमार्गका रुपमा विकास गर्ने भएको छ ।
स्थानिय आठपहरिया जातीको ऐतिहासिक महत्वसमेत बेकेको अक्कर भिर क्षेत्रमा रहेको यो क्षेत्रमा सडक निर्माण गर्न नसकिने भएकाले ती जातीले वार्षिकरुपमा तीर्थ जानका लागि बाहेक यो बाटो प्रयोगमा छैन । कोशी राजमार्गको साँगुरीगढी गाउँपालिका र उक्त नगरपालिकाको सिमानामा रहेको मूलघाट सडक खण्डबाट करिब नौ किलोमिटरको दूरीमा धनकुटा बजार रहे पनि भौगोलिक कठिनाइले हाल १७ किलोमिटर पार गरेर बजार पुग्नुपर्ने हुन्छ ।
यही भौगोलक कठिनाइका कारण पूर्वकै प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेको साँगुरीगढी गाउँपालिकाको भेडेटार, नमस्ते झरना हुँदै मूलघाटसम्म दैनिक आउने सयौँ पर्यटक धनकुटासम्म पुग्न सकेका छैनन् । यही भौगोलिक कठिनाइलाई पदमार्गका माध्यमबाट पर्यटक भित्र्याउन नगरले मूलघाटको तमोर नदी किनारबाट अक्करको भिर वडा नं ८ को टेकुनाला गाउँ हुँदै बजारसम्म जाने पदमार्ग निर्माण सुरु गरिएको हो ।
यो पदमार्ग नगरमा मात्र प्रमुख थातथलो भएका अल्पसङ्ख्यक सिमान्तकृत आठपहरिया जातिको आदिमकालदेखि हिँडेर सुनसरीको कोका खोला र बराहक्षेत्र तीर्थ जाने बाटो हो । यी जातिको समुदायमा वर्षभरि मृत्यु भएकाहरुका आफन्त यसै स्थानको चिरबिरे चौतारामा भेला भएर कार्तिके पूर्णिमाको तिथिमा चार दिनका लागि बराह क्षेत्रमा दुःख प्रकट गर्न जाने गर्दछन् ।
आठपहरिया जातिको संस्कृतिसमेतलाई प्रवद्र्धन गर्दै पर्यटक भित्र्याउन जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजनाको सहकार्यमा टेकुनाला गाउँको पुछार चिरबिरे चौतारासम्मको पदमार्ग निर्माणको काम सकिएको छ । क्रमागत योजनाअन्तर्गत मङ्सिरमा काम सुरु गरी फागुन मसान्तमा पहिलो चरणको चार सय मिटर पदमार्ग निर्माणको काम सकिएको उपभोक्ता समितिका अध्यक्ष रत्नबहादुर राईले जानकारी दिनुभयो ।
नगरपालिकाको रु २० लाख, पर्यटन परियोजनाको रु १० लाख र उपभोक्ता समितिको रु चार लाख ५५ हजार गरी कूल रु ३८ लाख ५५ हजारको लागतमा पदमार्गको काम सम्पन्न भएको नगरपालिकाको आर्थिक विकास शाखाका प्रमुख विकास अधिकारीले जानकारी दिनुभयो ।
वडा नं ९ स्थित मूलघाट र धनकुटे खोला दोभानबाट दक्षिण र उत्तरतर्फ निर्माणाधीन उक्त पदमार्ग पूरा गर्न करिब रु दुई करोडको बजेट आवश्यक रहेको अधिकारीले जानकारी दिनुभयो । पाँच वर्षमा पूरा गर्ने लक्ष्य राखिएको उक्त पदमार्गसँगै आठपहरिया जातिको घरबास९होमस्टे० सञ्चालन गरिने नगर प्रमुख चिन्तन तामाङले जानकारी दिनुभयो ।