पच्चीस लाखको अक्षयकोष स्थापना

  चैत ०६, २०७९

काठमाडौँ,चैत ६ : ‘नेपाल प्रहरी–भक्तवीर सिंह तुलाधर फाउन्डेसन छात्रवृत्ति अक्षयकोष’ स्थापना गरिएको छ । नेपाल प्रहरी र भक्तवीर सिंह तुलाधर फाउन्डेसनबीच आज ‘नेपाल प्रहरी–भक्तवीर सिंह तुलाधर फाउन्डेसन छात्रवृत्ति अक्षयकोष’ स्थापना गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा फाउन्डेसनका अध्यक्ष राजेशवीर सिंह तुलाधरले अक्षयकोष स्थापनाका लागि रु २५ लाखको चेक प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा उहाँले सम्झौताका लागि फाउन्डेसनलाई धन्यवाद दिँदै सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको कार्यदक्षता र मनोबलमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो ।

महानिरीक्षक सिंहले आगामी दिनमा समेत नेपाल प्रहरी र फाउन्डेसनबीच आपसी सहयोग आदान–प्रदान हुने विश्वास व्यक्त गर्नुभयो ।

फाउन्डेसनका अध्यक्ष तुलाधरले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरीलाई सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो । आगामी दिनमा समेत नेपाल प्रहरीसँगको सहकार्यलाई निरन्तरता दिने उहाँको भनाइ थियो ।

सम्झौताअनुसार नेपाल प्रहरी विद्यालयमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त र अमर÷शहीद एवम् अशक्त प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका उत्कृष्ट अङ्क प्राप्त गर्ने प्रहरी कर्मचारीका सन्ततिलाई कम्तीमा दुईजना जेहेन्दार विद्यार्थीलाई वार्षिक शुल्क, परीक्षा शुल्क, स्टेसनरी र आवासीय सुविधा भएको स्कुलमा आवास र खाना खर्च तथा आवासीय सुविधा नभएको स्कुलमा गाडी भाडासमेत निरन्तर उपलब्ध गराउने बताइएको छ ।

आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने उक्त सम्झौताअनुसार नेपाल प्रहरी विद्यालयका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया