‘टोकन–टाइम’ प्रणालीले काभ्रेका सेवाग्राहीलाई सहज

  चैत ०६, २०७९

काभ्रेपलाञ्चोक, ६ चैत : जिल्ला प्रशासन कार्यालयले ‘टोकन’ र ‘टाइम कार्ड’ लागू गरेपछि राहदानी र राष्ट्रिय परिचयपत्रका सेवाग्राहीलाई सहज भएको छ । कार्यालयले सेवाग्राहीको राहदानी र परिचयपत्रका फाराम भरेर फोटो खिचिदिन थालेपछि सहज बनेको हो ।

यसअघि राहदानीका लागि बाहिरबाट फाराम भर्न नसकेका नागरिक दैनिक कार्यालयमा बिहान ३ बजेदेखि नै लाइन बस्ने गरेका थिए । कार्यालयले हाल बिदाका दिनमा समेत नागरिकको अनलाइन फाराम भरेर फोटो खिचिदिने गर्दै आएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले राहदानी लिन अनलाइन फाराम भर्नैपर्ने कठिन अवस्थालाई सहज र सरल बनाउन टोकन र टाइम कार्ड प्राणाली लागू गरेपछि सेवामा सरल र सहज बन्दै गएको बताउनुभयो ।

पौडेलका अनुसार बिदाका दिनमा समेत एक सयभन्दा धेरै नागरिकलाई राहदानीको सेवा प्रदान गर्दै आइएको छ । कार्यालयको रेकर्डअनुसार गत फागुनमा दुई हजार तीन सय एकले राहदानी प्राप्तिका लागि फोटो खिचाएका छन् । त्यसमध्ये नौ सय ५६ महिला र एक हजार तीन सय ४५ पुरुष हुन् । थप दुईले द्रुत गतिमार्फत कार्यालयबाट सिफारिस लिएका छन् ।

कार्यालयबाट माघमा एक हजार चार सय ९७ ले राहदानी लिएका थिए । महाभारतस्थित इलाका प्रशासन कार्यालयबाट भने हालसम्म १२ ले फोटो खिचाएको जनाइएको छ । माघ २० गतेसम्म सेवाग्राहीले साइबर र अन्य माध्यमबाट फाराम भर्ने गरेका थिए । स्थानीय साइबरले भने राहदानीका फाराम भरेको मात्रै रु पाँच सयदेखि रु दुई हजारसम्म लिँदै आएका थिए ।

व्यक्तिले छोटो समयका लागि खुल्ने अनलाइनमा आवश्यक कागजात राख्दाराख्दै बन्द हुने कारण हैरानी खेप्दै आएका थिए । साइबरले पनि पालोमा राख्दा महिनौँ कुर्नुपर्र्ने बाध्यता रहँदै आएको थियो । “आफैँ भर्दा र साइबरलाई लगाउँदा धेरै सास्ती भयो, अहिले प्रशासन आफैँले फाराम भर्ने गर्न थालेपछि धेरै दिन कुर्नुपर्दैन”, बनेपा नगरपालिका–६ का सागर श्रेष्ठले भन्नुभयो ।

हाल कार्यालय आफैँले उक्त फाराम भरिदिएपछि नागरिकलाई आर्थिक भार घटेको छ । कर्मचारी, बैंक तथा सेवाग्राहीको सहयोग र समन्वयले नागरिकलाई दैनिक सेवामा सहज र सरल भएको बताइन्छ । यस्तै कार्यालयले राहदानी झैँ नागरिकता र राष्ट्रिय परिचयपत्रका सेवामा सहज बनाउँदै लगेको छ । परिचयपत्रका दुई स्टेशनमा थपेर तीन बनाइएको छ । कार्यालयबाट गत माघमा दुई हजार ८१ र फागुनमा दुई हजार चार सय ७१ ले राष्ट्रिय परिचयपत्र आवेदन दिएका छन् ।

तपाईको प्रतिक्रिया