टक्सारका पुराना धार्मिकस्थल जोगाउन ज्ञान महायज्ञ

  चैत ०४, २०७९

टक्सार (भोजपुर), चैत ४ : सदरमुकामबाट आधा घण्टाको दूरीमा भोजपुर नगरपालिका वडा नम्बर १२ मा रहेको टक्सार बजार स्थापनासँगै यहाँ पाटनका जस्तै धार्मिक सम्पदा पनि बनेका थिए ।

त्यसपछि टक्सार बजारलाई मन्दिरै मन्दिर भएको बजारका रुपमा पनि परिभाषित गरिएको टक्सारलाई नजिकबाट नियाल्दै आउनुभएका गणेश बज्राचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “टक्सार बजारलाई मन्दिरै मन्दिरको बजार भने हुन्छ, तर यसको संरक्षण हुन सकेको छैन । ”

टक्सारमा विद्याधरी अजिमा, भीमसेन, श्रीकृष्ण, रणेश्वर शिवालय, राधाकृष्ण, हनुमान, जयेश्वर महादेव, देउराली भगवती, कोट भगवती, करुणामय मन्दिर, शाक्यमुनि विहार, उत्तराभिमुख गणेशलगायत दर्जनौँ देवदेवीका मठमन्दिर, विहार र चैत्य, धारा, पौवा, पाटीहरु छन् । जुन उचित संरक्षण र सम्वद्र्धनको पर्खाइमा रहेको स्थानीयवासीको भनाइ छ ।

टक्सारमा रहेका ऐतिहासिक, पौराणिक र सांस्कृतिक महत्व उजागर गर्दै यहाँभित्रका धार्मिक सम्पदाको संरक्षण र सम्वद्र्धन गर्न श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको गरिने भएको छ । टक्सारमा रहेको रणेश्वर शिवालय मन्दिर एक सय वर्ष पूरा भएको अवसरमा महायज्ञको आयोजना गरिने प्रचारप्रसार समितिका सदस्य घमचन्द्र दाहालले जानकारी दिनुभयो ।

सदस्य दाहालले भन्नुभयो, “धार्मिक तथा धातु व्यवसायका हिसाबले इतिहास बोकेको टक्सार ओझेलमा पर्दे गई रहेको छ, यसलाई पुरानै अवस्थामा फर्काउनु राज्यको पनि दायित्व हो तर सरकारी पक्षबाट केही सहयोग हुन सकिरहेको छैन ।”

रणेश्वर महादेव गुठी व्यवस्थापन तथा सञ्चालक समितिको आयोजनामा हुने सप्ताह महायज्ञमा प्रख्यात पण्डित सागर भट्टराई र पण्डित सुदीप सुवेदीले कथा वाचन गर्नुहुनेछ । साथै सार्वजनिक सङ्गीतमय कार्यक्रम पनि हुनेछ । हरेक दिन सङ्गीतमय योग शिविर सञ्चालन हुनेछ ।

चैत्र ८ गतेबाट हुने महायज्ञले धार्मिक सम्पदाको प्रचारसहित संरक्षणमा पनि विशेष योगदान दिने स्थानीय सानुकाजी शाक्यले बताउनुभयो ।

शाक्यले भन्नुभयो, “रणेश्वर शिवालय मन्दिर बनेपछि टक्सारमा एक किसिमले धार्मिक, सांस्कृतिक जागरण आयो, विभिन्न पर्वमा धार्मिक क्रियाकलाप हुन थाल्यो, दैनिक पूजा पाठ हुँदा पूर्वको पशुपतिनाथ जस्तै बन्यो ।”

तपाईको प्रतिक्रिया