घरमै पुगेर अपाङ्गता परिचयपत्र

  चैत ०४, २०७९

डुम्रे, चैत ४ : तनहुँको व्यास नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका लागि परिचयपत्र वितरण कार्यलाई तीव्रता दिएको छ । नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले अति अशक्त भएका व्यक्तिलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गर्नुभएको छ ।

उपप्रमुख दरैले शुक्रबार लामो समयदेखि ओछ्यान पर्नुभएकी व्यास–१२ का ५४ वर्षीया चिजामाया क्षेत्रीलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गर्नुभएको हो । अति अशक्त अवस्थाकी चिजामायालाई उपप्रमुख दरैले घरमै पुगेर ‘क’ वर्ग ९अति अशक्त० को परिचयपत्र दिनुभएको छ ।

अति अशक्त भएका व्यक्तिलाई पालिकासम्म पुग्न समस्या हुने भएकाले घरमै पुगेर परिचयपत्र वितरण गरिएको उहाँले बताउनुभयो । स्थानीय तहको सेवा घरघरमा पुगेर गर्दा सिंहदरबारको सेवा पाएजस्तो अनुभूति दिलाउनुपर्छ भन्ने मान्यता रहेको उहाँको भनाइ छ ।

नगरपालिकाको शिक्षा तथा सामाजिक विकास शाखा महिला, बालबालिका तथा सामाजिक उपशाखा प्रमुख राधा आचार्यले पालिका वा वडासम्म पुग्न सक्ने व्यक्तिलाई बोलाइने र अति अशक्तलाई घरमा नै पुगेर सेवा प्रवाह गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार अति अशक्त अवस्थाका अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर परिचयपत्र प्रदान गरिएको छ ।

त्यस्तै व्यास–१० का ५२ वर्षीय दानबहादुर दरैलाई अति सशक्त परिचयपत्र विरतण गरिएको छ । अपाङ्गता भएका व्यक्तिलाई सहज रुपमा सेवा प्रवाह गर्न घरमै पुगेर परिचयपत्र प्रदान गरिएको हो । घरमै आएर सेवा परिचयपत्र दिँदा सिंहदरबारको सेवा घरघरमा आएको महसुस भएको दानबहादुर बताउनुहुन्छ ।

“हिँड्डुल तथा शौचका लागिसमेत जान नसक्ने अशक्त व्यक्तिलाई सहयोग पुगेको छ, यसमा हाम्रो पनि कोही छ भन्ने लागेको छ”, उहाँले भन्नुभयो ।

शाखाप्रमुख आचार्यका अनुसार हालसम्म नगरपालिकाभित्रका आठ सय पाँच जनालाई विभिन्न वर्गका अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । नगरपालिकाका आठ सय पाँचजनालाई क, ख, ग र घ वर्गको परिचयपत्र वितरण गरिएको जनाइएको छ । हाल परिचयपत्र वितरणको कार्यक्रम भइरहेको छ ।

तपाईको प्रतिक्रिया