बाजुरा,चैत ३ : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले जिल्लाको विकासका लागि सबैले साझा मुद्दा बनाएर जानुपर्नेमा जोड दिनुभएको छ ।
शुक्रबार खप्तड मालिका युवा सञ्जाल बाजुराले आयोजना गरेको प्रथम खप्तड मालिका उद्योग, कृषि, पर्यटन तथा व्यापार महोत्सवलाई सम्बोधन गर्दै उहाँले विकास निर्माणका कार्यमा राजनितिक दलले एकताबद्ध भएर लाग्नुको विकल्प नरहेको बताउनुभयो ।
उहाँले जिल्लामा नागरिकका आवश्यकताभन्दा पनि मागका आधारमा योजना आउने गरेकाले तत्काल यस्ता कार्य रोकिनुपर्ने बताउनुभयो ।
मागका आधारमा योजना आउन थालेको प्रति चिन्ता व्यक्त गर्दै प्रदेश प्रमुख जोशीले विकासमा यस्तो कार्यले फड्को मार्न नसक्ने दावी गर्नुभयो । जिल्लामा मागका आधारमा योजना बन्ने र आवश्यकताका आधारमा योजना नबन्ने गरेको प्रति गुनासो गरेको उहाँले बताउनुभयो ।
महोत्सवमा त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापा, बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दाकुमारी थापा र प्रमुख जिल्ला अधिकारी पुष्कर खड्कालगायतले मन्तव्य राख्नुभएको थियो ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुती दिने भएका छन् । महोत्सव शुक्रबारदेख चैत १२ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । ‘उद्योग, कृषि, पयषर््टन र व्यापार, जडीबुटी संस्कृति समृद्ध बाजुराको आधार’ भन्ने मूल नाराका साथ प्रथम खप्तड मेलाका महोत्सव सुरु भएको हो ।
महोत्सवमा स्थानीय झाँकी, अनन्ते, गौरा, हुड्केली, भुवा, चालीलगायतका प्रदर्शनी गरिने खप्तड मालिका युवा सञ्जालका अध्यक्ष शुक्रराज बोहराले जानकारी दिनुभयो ।






