खाना पकाउने ग्यास तथा शरीरमा लागेको आगो नियन्त्रण गर्ने अभ्यास गराउँदै सशस्त्र

  चैत ०३, २०७९

खोटाङ, चैत ३ : पछिल्लो समय नेपालमा खाना पकाउने ग्यास सिलिन्डरबाट भएका आगलागीका घटना तथा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका घटना वृद्धि हुँदै गएका छन् ।

खाना पकाउने एलपी ग्यासबाट भएका आगलागीका घटना नियन्त्रण गर्ने उपाय थाहा नहुनुका साथै घटनास्थलमा सर्वसाधारण अतालिनाले समाजमा ठूला घटनासमेत भइरहेका छन् ।

खाना पकाउने ग्यासबाटै भएको दुर्घटनाका कारण खोटाङको खोटेहाङ गाउँपालिका–४ बडकादियालेकी २२ वर्षीया सोनिका राईले ज्यान नै गुमाउनुप¥यो । गत फागनु–८ गते ग्यास पड्किएर भएको दुर्घटनामा गम्भीर घाइते बनेकी सोनिकाको पाँच दिनपछि फागनु–१३ गते उपचारको क्रममा निधन भएको हो ।

दुर्घटनामा सोनिकाको दिदी सविता राई गम्भीर घाइते हुनुभएको छ । शिक्षक सेवा आयोगको तयारी गर्दै बहिनीसँग बस्नुभएकी २७ वर्षीया सविताको हाल किर्तिपुरस्थित एक अस्पतालमा उपचार भइरहेको आफन्तले बताएका छन् ।

बडकादियाले स्थायी घर भइ हाल धरान उपमहानगरपालिका–१७ आदर्शटोलस्थित अर्को घरमा बस्र्दै आएकी मृतक सोनिका र उनकी दिदी सवितासँगै उक्त दुर्घटनामा आठजना घाइते घाएका थिए । ग्यास दुर्घटनाका अन्य पाँचजना घाइतेको अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ ।

गत पुस–५ गते खाना पकाउने ग्यासकै कारण केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा भीषण आगलागी हुँदा करिब रु पाँच करोड बराबरको क्षति भएको थियो ।

स्थानीय दीपक गुरुङको घरको खाना पकाउने ग्यासबाट शुरु भएको आगोले सँगै जोडिएर रहेका पाँचवटा घर तथा दर्जन बढी पसल जलेर नष्ट हुँदा रु चार करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

खाना पकाउने ग्यासबाट जिल्लासमेतमा दुर्घटना हुन थालेपछि सशस्त्र प्रहरी बल हलेसी गुल्म खोटाङले नियन्त्रण अभियान शुरु गरेको छ । सचेतनामूलक अभियानअन्तर्गत सशस्त्र प्रहरीका जवानले आज (शुक्रबार) दिक्तेलस्थित पुरानो बेसक्याम्पमा खाना पकाउने ग्यासमा भएको आगलागी तथा मानिसको शरीरमा लागिरहेको आगो नियन्त्रण गर्ने उपायका बारेमा सर्वसाधारणलाई अभ्यास गरेर देखाएका थिए ।

सशस्त्र प्रहरीले सञ्चालन गरेको सचेतनामूलक अभियानमा सहभागी सर्वसाधारणसमेतले ग्यास सिलिन्डरमा लागेको आगो निभाउने अभ्यास गरेका थिए ।

आफ्नो भान्छा वा जुनसुकै ठाउँमा ग्यास लिक भएर लागेको आगो कम्बल वा पानी सोस्ने कपडा पानीमा भिजाएर आगलागी भएको ठाउँमा ढाक्दा सजिलै नियन्त्रण गर्न सकिने उपाय प्रदर्शनका क्रममा देखाइएको थियो ।

आगलागीका घटनामा परी गम्भीर घाइते भएकालाई तुरुन्तै अस्पताल पु¥याउने उपायबारेमा समेत सचेतनामूलक डेमो प्रस्तुत गरिएको थियो । सशस्त्र प्रहरीले शुरु गरेको सचेतनामूलक अभियान प्रभावकारी भएकाले गाउँगाउँमा पु¥याएर सार्वसाधारणलाई जानकारी दिन आवश्यक देखिएको सहभागीले बताएका छन् ।

खाना पकाउने ग्यासमा लागेको आगो सजिलै निभाउन सकिने भए पनि सर्वसाधारणलाई कसरी निभाउने भन्नेबारे उपाय थाहा नभएकाले जानकारी दिने उद्देश्यले सचेतनामूलक अभियान शुरु गरिएको हलेसी गुल्मका गुल्मपति प्रहरी नायब उपरीक्षक श्याम रावतले बताउनुभयो ।

“आगलागीका घटना हुने बित्तिकै संयम् भएर नियन्त्रणका उपाय अपनाउने हो भने, अधिकांश आगलागीका घटना नियन्त्रण गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारे सर्वसाधारणलाई जानकारी दिन अभियान शुरु गरेका हौँ । अब विद्यालय, बजार क्षेत्र र मानिसको भीडभाड हुने ठाउँमा गएर अभियान सञ्चालन गर्ने योजना बनाएका छौँ ।”

सशस्त्र प्रहरीले शुरु गरेको सचेतनामूलक अभियानका क्रममा आफूले प्रयोग गर्ने ग्यास सिलिन्डरको मिति हेर्न, रेगुलेटर र पाइपको गुणस्तरमा ख्याललगायतका बारेमासमेत सर्वसाधारणलाई जानकारी दिने गरिएको छ । यसअघि भूकम्प र चट्याङबाट बँच्ने उपायका बारेमा सचेतनामूलक अभियान शुरु गरेको सशस्त्र प्रहरीले यो अभियान जिल्लाभरी पु¥याउने जनाएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा उपयोग मिति सकिएका ग्यास सिलिन्डर प्रयोग भइरहेको पाइएको छ । व्यापारीले पहिलो पटक लेखिएका मिति रङले पातेर अर्को मिति थपेको पाइएको उपभोक्ताले बताएका छन् ।

तपाईको प्रतिक्रिया