पर्यटन विकासका लागि एकीकृत तथ्याङ्क प्रणाली विकास गरिनुपर्ने

  चैत ०३, २०७९

काठमाडौँ,चैत ३ : पर्यटन विकासका लागि एकीकृत तथ्याङ्क प्रणाली विकास गर्नुपर्ने निष्कर्ष निकाल्दै पर्यटन तथ्याङ्कसम्बन्धी एशिया प्रसान्त क्षेत्रीय कार्यशाला काठमाडौँमा सम्पन्न भएको छ ।

विश्व पर्यटन सँगठन एनडब्लुयूटीओ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तीन दिने ‘वेटर डाटा फर वेटर टुरिजम इन साउथ एशिया एण्ड प्यासिफिक’ क्षेत्रीय कार्यशालाले एशिया प्रसान्त क्षेत्रको समग्र पर्यटन विकासका लागि रणनीतिक कार्यक्रम अगाडि बढाउने भएको हो ।

कार्यशालामा नेपाल, भारत, बङ्गलादेश, मलेशिया, माल्दिभ्स, इन्डोनेसिया, इरान, फिलिपिन्स, कम्बोडिया, लाओस, कोरिया, थाइल्याण्ड, स्पेनलगायत ११ देश प्रतिनिधि सहभागी थिए ।

कार्यशालाको आज समापन गर्दै पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले पर्यटन क्षेत्रको सङ्ख्यात्मक तथा गुणात्मक विकासका लागि तथ्याङ्कको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

उहाँले कार्यशालामा भएका छलफल र यसबाट निस्केको निश्कर्षले एशिया तथा प्रशान्त क्षेत्रको पर्यटनलाई नयाँ गति दिने आशा व्यक्त गर्नुभयो ।

संयुुक्त राष्ट्रसङ्घअन्तर्गतको विश्व पर्यटन सङ्गठनका बाह्य सम्वन्ध निर्देशक बेका जकेलीले कुनै पनि नीतिका लागि तथ्याङ्कको भूमिका महत्वपूर्ण हुने र पर्यटन विकासका लागि भनै अपरिहार्य भएको बताउनुभयो ।

उहाँले हरेक देशलाई सही विधि, प्रक्रिया, धेरै स्रोतबाट, तथ्याङ्क सङ्कलन गरी त्यसको विश्लेषण गरी स्याटेलाइट अकाउण्ट तयार पार्न आग्रह गर्नुभयो ।

बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले कार्यशालामा पर्यटनका विभिन्न आयाम गहन छलफल तथा पर्यटन तथ्याङ्कका विषयमा विभिन्न देशका अनुभव आदान प्रदानले पर्यटनको लागि नयाँ दृष्टिकोण तयार हुने विश्वास व्यक्त गर्नुभयो ।

तीन दिवसीय कार्यशालामा पर्यटनसँग सम्बन्धित विभिन्न छलफलमा एक दर्जन बढी कार्यपत्र प्रस्तुतिकरण गरिएको बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया