वर्तमान आर्थिक अवस्था सुधार गर्न किसानको अवस्था सुधार गर्नुपर्ने

  फागुन २७, २०७९

काठमाडौँ, फागुन २७ : वित्तीय क्षेत्रका विज्ञहरूले वर्तमान आर्थिक अवस्थाबाट देशलाई माथि उठाउन कृषि र किसानको अवस्था सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २२औँ स्थापना दिवसका अवसरमा आज विज्ञहरूले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउँदै कृषिजन्य वस्तुको भण्डारण, प्रशोधन र बजारीकरणमा ध्यान दिनसके अर्थतन्त्र सुधारको बाटो खुल्ने धारणा राखे ।

कृषि विकास बैंकका पूर्वअध्यक्ष श्रीकृष्ण उपाध्यायले कृषि क्षेत्रमा लगानी र बजारीकरणमा समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले ग्रामीण क्षेत्रमा राम्रो काम गरेका कृषि सहकारीका सदस्य किसानलाई उत्साह बढाउन सरकारले त्यस्ता सहकारीको पहिचान गरी कृषि कार्यक्रम कार्यन्वयनमा जोड दिनुभयो ।

“सहकारीमा समस्यामात्र छ्रैनन्”, उहाँले भन्नुभयो, “सम्भावना बोकेका र आफूलाई सफल प्रमाणित गरेका सहकारी पनि छन्, त्यसको पहिचान गर्ने र भन्ने समय आइसकेको छ, सहकारी र लघुवित्तलाई एउटै नजरबाट हेर्ने परिपाटीको अन्त्य गर्नुपर्ने छ ।”

साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठकले लघुवित्तलाई एउटै डालोमा राखेर गरिएको विश्लेषणप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले आफ्नो संस्थाले अहिले एक हजार चार सय ५९ साझेदार साना किसान कृषि सहकारीमार्फत सेवा प्रवाह गरिरहेको जानकारी दिनुभयो ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले नेपालको दूरदराजका किसानलाई व्यवसायी बनाउन साना किसान लघुवित्त वित्तीय संस्थाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

उहाँले किसानलाई उत्पादनमा लाग्न प्रेरित गर्ने, उत्पादन गर्ने, प्रशोधन गर्ने, भण्डारण गर्ने र बजारसम्म जोड्ने कुरामा अझै काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा देशभर रहेका एक हजार चार सय ५९ साझेदार सहकारी संस्थामध्ये सर्वोउत्कृष्ट संस्थाका रूपमा परिवर्तन महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड सुर्खेतलाई पुरस्कृत गरिएको थियो ।

त्यसैगरी ११ वटा इलाका कार्यालय रहेको संस्थाले उत्कृष्ट इलाका कार्यालयका रूपमा हेटौँडा इलाका कार्यालयलाई उत्कृष्ट इलाका कार्यालयका रूपमा पुरस्कृत गरेको छ ।

तपाईको प्रतिक्रिया