एआइजीमा बढुवाका लागि सिफारिस

  फागुन २६, २०७९

काठमाडौँ, फागुन २६ : गृह मन्त्रालयले नेपाल प्रहरीको जनपद समूहतर्फको पाँच जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी)मा बढुवाका लागि सिफारिस गरेको छ ।

आज बसेको बढुवा सिफारिस समितिको बैठकले प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम (४) अनुसार पाँच डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस भएको प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले राससलाई जानकारी दिनुभयो ।

यसरी सिफारिस भएकामा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी बसन्तबहादुर कुँवर, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी टेकप्रसाद राई, बागमती प्रदेश प्रहरी कार्यालका प्रमुख डिआइजी दीपक थापा, कोसी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी श्यामलाल ज्ञवाली र प्रहरी प्रधान कार्यालय, आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा रहनुभएका डिआइजी किरण बज्राचार्य हुनुहुन्छ ।

सिफारिसमाथि मन्त्रिपरिषद्ले निर्णय गरेपछि बढुवा हुने कानुनी व्यवस्था छ । सिफारिस समितिको संयोजकमा भने गृहसचिव हुने र त्यसको सदस्य सचिवमा प्रहरी महानिरीक्षक रहने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया