बेसीँसहर–चामे सडक निर्माण सुस्त

  फागुन २०, २०७९

हिमाली जिल्ला मनाङ जोड्ने सडकमार्ग निर्माण सुस्त भएको छ । बेंसीसहर–चामे सडकका निम्ति बजेट विनियोजन भएको लामो समय हुँदासम्म स्तरोन्नति र कालोपत्र कार्य अघि बढ्न सकेको छैन ।

सडकको दुई वर्षमा करिब ४० प्रतिशत मात्र काम भएको छ । डुम्रे–बेँसीसहर–चामे सडक योजनाले बेँसीसहरको मनाङे चौतारा नजिकै एक सय मिटरदेखि खुदीसम्म सात दशमलव आठ किलोमिटर सडक कालोपत्रका लागि बोलपत्र आह्वान गरेको थियो ।

सोही बोलपत्रअनुरूप आशिष अनेस्ट जेभी चितवनले विसं २०८० असार २९ गतेसम्म कालोपत्र सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७८ असार ३० गते ठेक्का सम्झौता गरेको थियो । कूल रु ५२ करोड ९६ लाख १६ हजार अनुमानित लागत रहेकामा रु २५ करोड ३२ लाख १३ हजार लागतमा कालोपत्र गर्ने सम्झौता गरिएको थियो ।

ठेक्का सम्झौताको मिति सकिन चार महिना बाँकी छँदा हालसम्म ४० प्रतिशत मात्रै काम सकेको सडक कार्यालयका प्रमुख अच्युतविलास पन्तले जानकारी दिनुभयो । “पटक–पटकको बैठकमा निर्माण कम्पनीका मुख्य व्यक्ति उपस्थिति भएनन्”, उहाँले भन्नुभयो, “हामीले यही फागुन २७ गते बैठक राखेर त्यो बैठकमा आउन भनेका छौँ, त्यही दिन विस्तृत छलफल हुन्छ ।”

सडकमा ग्राभेल गरिएका छैन । नाली निर्माण कार्य ५० प्रतिशत सकिएको उहाँले बताउनुभयो । उहाँका अनुसार कटिङको काम ७० प्रतिशत सकिएको छ । वाल उठाउने कार्य ६० प्रतिशत सकिएको उहाँले बताउनुभयो । “मुख्य काम भनेको कालोपत्र हो, जुन अहिलेसम्म ग्राभेल नै भएको छैन, कालोपत्र हुन्छ भन्ने निश्चित नै छैन”, उहाँले भन्नुभयो ।

यो सडक मनाङको मेरुदण्ड र उत्तरी लमजुङवासीका लागि प्रमुख मार्गका रुपमा रहेको छ । विसं २०६९ मा नेपाली सेनाले मनाङको सदरमुकाम चामेसम्म सडक निर्माण गरेको थियो । अहिले सडक माथिल्लो मनाङको खाङसारसम्म पुगेको छ । निर्माण व्यवसायीले काम सुस्त गतिमा गरेको स्थानीयवासीको गुनासो छ । सुस्त गतिमा निर्माण कार्य हुँदा निर्माणको समय लम्बिने स्थानीयवासीको भनाइ छ ।

डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीका अनुसार यस सडकको ‘क्यारिज वे’ ९भार बोक्ने सडक० पाँच दशमलव पाँच मिटरको हुनेछ । यो मध्यम लेनको सडक मानिन्छ । उहाँले अहिले पहिलो चरणको काम भइरहेको बताउनुभयो । सडकको अहिले वाल कटिङ गर्ने, चौडाइ बढाउने, टेवा ९पर्खाल० उठाउने, कल्भर्ट बनाउने, नाली बनाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया