विदेशी पर्यटकको खर्चबारे अध्ययन गर्दै पर्यटन बोर्ड

  फागुन १४, २०७९

नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको औसत खर्चको यकिन तथ्याङ्क लिन अध्ययन सुरु गरेको छ । बोर्डले विदेशी पर्यटकको औसत खर्चदर पत्ता लगाउने उद्देश्यले आजदेखि सर्भेक्षण सुरु गरेको हो । बोर्डका निर्देशक मणिराज लामिछानेले विदेशी पर्यटकले नेपालमा कति खर्च गर्छन् भनेर यकिन तथ्याङ्क निकाल्ने लक्ष्यका साथ अध्ययन सुरु गरिएको राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दुई हजार नमुना सङ्कलन गरिनेछ । बोर्डबाट खटिने पाँच कर्मचारीले हरेक दिन १० वटा प्रश्नको फाराम भरेर ४० दिनभित्र यो काम सक्नेछन् ।” बोर्डको समन्वयमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान ९नाथम०का विद्यार्थी यो अध्ययनमा सम्लग्न छन् ।

नेपालमा विदेशी पर्यटकले कति खर्च गर्छन् भन्ने यकिन तथ्याङ्क निकाल्न यो अध्ययनले सहयोग पुग्ने निर्देशक लामिछानेले उल्लेख गर्नुभयो । उहाँका अनुसार सन् २०२१ मा एक विदेशी पर्यटकले दैनिक औसत ४८ अमेरिकी डलर खर्च गरेको पाइएको छ । सन् २०२२ मा पनि सोही हाराहारीमा पर्यटकले खर्च गर्ने गरेका छन् । सन् २०२३ मा यो दर बढेर ७० देखि ७५ डलर पुग्ने निर्देशक लामिछानेको भनाइ थियो ।

उहाँले ‘टुरिज्म स्याटेलाइट अकाउन्ट’ को प्रमुख टुलका रूपमा आजदेखि अध्ययन सुरु गरिएको बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय तथ्याङ्क कार्यालय र नाथमको सहकार्यमा पर्यटकको खर्चसम्बन्धी अध्ययन सुरु गरिएको हो ।

तपाईको प्रतिक्रिया