काठमाडौँ, फागुन १३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिंसा, लोकतन्त्र र सामाजिक न्यायका पक्षधर महेन्द्रनारायण निधि नेपालको प्रजातान्त्रिक आन्दोलनको विशिष्ट पहिचान भएको बताउनुभएको छ ।
निधिको १०१औँ जन्मजयन्तीका अवसर पारेर महेन्द्रनारायण निधि प्रतिष्ठानले आज प्रधानामन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उहाँले विचार, निष्ठा, संस्कृति, अनुशासन र पद्धति सिकाइराख्ने प्रेरणाको अनन्त स्रोतका रूपमा निधि रहनुभएको बताउनुभयो ।
“राजनीतिमा कहिलेकाहीँ केही व्यक्ति ठूलो पदमा पुग्न पनि सक्छन्, योग्यता र क्षमता भए पनि कोही त्यस्तो पदमा नपुग्न सक्छन्, तर समाजले त्यस्ता व्यक्तिलाई सम्मान गरिरहेकै हुन्छ । पदमा पुगेको व्यक्तिहरू पनि निधिजस्ता व्यक्तित्वका अगाडि झुकेकै हुन्छन्”, उहाँले भन्नुभयो ।
विपी कोइराला, गणेशमान सिंह वा कृष्णप्रसाद भट्टराईलगायत नेताले पनि निधिको निष्ठा, संस्कार, समर्पणलाई अनुसरण गर्दै आएको जनाउँदै उहाँले सबैले निधिलाई सम्मान गर्नुपर्ने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्र र प्रजातन्त्रप्रतिको निष्ठाबाट कहिल्यै विचलित नभएका निधिको सादगी जीवन सबैका निम्ति प्रेरणादायी रहेको बताउनुभयो ।
नयाँ पुस्ताले निधिबाट प्रेरणा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले निधिको मूल्य, मान्यताप्रतिको समर्पण सबैले अनुसरण गर्नुपर्ने बताउनुभयो ।
गणतन्त्र, सङ्घीयता, समावेशीताको रक्षा गर्दै जनतालाई सुशासन दिनुपर्ने अहिलेको कार्यभार रहेको जनाउँदै उहाँले वर्तमान अवस्थामा जनता र राजनीतिक दल एक भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
“परिवर्तनलाई उल्ट्याउने प्रयत्न भइरहेको छ, लोकतन्त्रप्रति प्रतिबद्ध शक्ति यस सन्दर्भमा गम्भीर बन्नुपर्छ”, उहाँले भन्नुभयो, “नेपाली समाजको विविधतालाई विभिन्न तहमा प्रतिविम्बित गर्नुपर्छ, सहभागितामूलक र समावेशी प्रतिनिधित्वलाई अगाडि बढाउनुपर्छ ।”
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निधि लोकतन्त्रवादी, अहिंसावादी, गान्धीवादी र राष्ट्रवादी नेताका रूपमा रहनुभएको बताउनुभयो ।
उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनमा मधेसको विशिष्ट स्थान रहेको उल्लेख गर्दै जनकपुर लोकतन्त्रको केन्द्रमा रहेको बताउनुभयो । “जनकपुर तराई–मधेसलाई प्रभाव पार्ने स्थानका रूपमा थियो, निधिले मधेसमा लोकतन्त्रमय वातावरण बनाउनुभयो”, उहाँले भन्नुभयो ।
कांग्रेस नेता विमलेन्द्र निधिले शान्तिपूर्ण आन्दोलनको बाटो अँगाल्नु भनेर निधिले बारम्बार आवाज उठाउँदै आएको बताउनुभयो ।
शान्तिपूर्ण आन्दोलनबाट गणतन्त्र, स¬ङ्घीयता, समावेशीतालगायत उपलब्धि प्राप्त भएको स्मरण गर्दै उहाँले सबैले राजनीतिमा शान्तिपूर्ण मार्ग अँगाल्नुपर्ने बताउनुभयो ।
परिवर्तनका लागि सशस्त्र सङ्घर्षमा उत्रिएका कांग्रेस र कम्युनिष्ट निधिको विचारअनुसार नै शान्तिपूर्ण राजनीतिमा अवतरण भएको उहाँले दाबी गर्नुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता शरत्सिंह भण्डारीले उच्च आदर्श र मूल्यको नेताका रूपमा निधि रहनुभएको बताउनुभयो ।
“सही ढङ्गले राजनीति परिचालन गर्न सकेनौँ भने हामी त्यतिबेला जनताको अगाडि उभिने अवस्थामा हुनेछैनौँ”, उहाँले भन्नुभयो, “जनताले परिवर्तनको ठूलो अपेक्षा गरेका छन्, आजका दिनमा जनआकाङ्क्षा पूरा गर्ने सङ्कल्प गर्नुपर्छ ।”
प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहालले प्रतिष्ठानले निधिको स्मृतिमा अस्पताल र नर्सिङ क्याम्पस सञ्चालनमा ल्याएको बताउनुभयो । प्रतिष्ठानले निधिका गान्धीवादी विचारलाई प्रवर्द्धन गर्दै आएको उहाँको भनाइ छ ।
प्रतिष्ठानका संस्थापक अध्यक्ष भानुभक्त ढकालले निधि नेपालको प्रजातान्त्रिक आन्दोलनको प्रेरणादायी व्यक्तित्व रहनुभएको बताउनुभयो । उहाँले निधिले अपनाएको जीवन पद्धतिमा हिँड्न सबैले सङ्कल्प गर्नुपर्ने बताउनुभयो ।






