आदिबराह मन्दिर पुनःनिर्माण

  फागुन १२, २०७९

पर्वतको जलजला गाउँपालिका–२ पूर्णगाउँस्थित प्रसिद्ध ऐतिहासिक आदिबराह मन्दिरको पुनःनिर्माण गरिएको छ । तेह्रौँ शताब्दीमा जुम्लाबाट बसाइँ सरेर मल्लाज आएका घर्ती क्षेत्री र कार्की क्षेत्रीले २०४२ सालमा निर्माण गरेको आदिबराह ताल परिसरको मन्दिर २०७२ सालको भूकम्पबाट क्षत–विक्षत भएको थियो ।

पुर्खाले निर्माण गरेको मन्दिर चन्दा जुटाएर पुनःनिर्माण गरिएको जलजला–२ का वडाध्यक्ष तथा मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष प्रकाश जिसीले जानकारी दिनुभयो । “रु एक करोड ५० लाख चन्दा जुटाएर दुईवटा मन्दिर पुनःनिर्माण गरेका हौँ”, उहाँले भन्नुभयो, “मन्दिर पुनःनिर्माणसँगै ऐतिहासिक र धार्मिक महत्वको आदिबराहलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अभियानमा जुटेका छौँ ।”

मन्दिर पुनःनिर्माणका लागि हाल बेलायतमा बसोबास गर्नुहुने रवीन्द्रजङ्ग लामिछानेले बढी रु २५ लाख सहयोग गर्नुभएको छ । समुद्री सतहदेखि एक हजार नौ सय ५० मिटरको उचाइमा अवस्थित बराहताल तीन रोपनी आठ आना क्षेत्रफलमा फैलिएको छ । करिब तीन मिटर गहिरो यस तालको पृष्ठभूमिमा धवलागिरि र नीलगिरि हिमाल देखिन्छ ।

स्थानीय नवीन जिसीले भन्नुभयो, “बस्तीदेखि टाढा एकान्त वातावरणमा रहेको बराहताल र मन्दिर पर्यटक र पूर्वाधारको पर्खाइमा छ ।” यहाँबाट पर्वत, म्याग्दी र बागलुङका विभिन्न बस्तीको अवलोकन गर्न सकिन्छ । हिमालको छायाँ पर्दा ताल निकै आकर्षक र मनमोहक देखिन्छ ।

पर्वतको वारीबेनी हुँदै मल्लाजबाट दुई घण्टा उकालो हिँडेपछि बराहताल पुगिन्छ । अङ्ग्रेजी अक्षरको ‘सी’ आकारको तालको सौन्दर्य र विशेषता मल्लाजमै सीमित छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुनसकेको छैन । यो जलजला गाउँपालिकाको सबैभन्दा ठूलो ताल हो । बराहताल कहिल्यै सुक्दैन । तालको पानी पुरानो गाउँ र मल्लाजमा खानेपानी तथा सिँचाइका लागि समेत प्रयोग गरिएको छ ।

जनै पूर्णिमामा बराहतालमा विशेष मेला लाग्छ । त्यहाँ पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । सन्तान लाभ, रोजगारी, व्यापार, व्यवसायमा सफलताका लागि कामना गर्न त्यहाँ जाने गरेका छन् । मनोकामना पूरा भएपछि साँढे, बोका र परेवाको बलि चढाउने चलन छ ।

तपाईको प्रतिक्रिया