बढ्दै छ पत्रकारिता शिक्षामा आकर्षण

  फागुन ०८, २०७९

उर्लाबारी,फागुन ८ : “पत्रकारिता तथा आमसञ्चार विषय नै पढेर पत्रकारिता पेसामा तल्लीन हुँदाको अनुभव भिन्न छ । यसले मेरो खोजमूलक लेखनमा लगनशीलता बढाउँदै छ । अहिले घरपायकमा रहेको क्याम्पसमै पत्रकारिता पढ्न पाउँदा धेरै खुसी छु”, यो भनाइ हो मोरङ रतुवामाई–९ का पुजन दासको ।

चार वर्षदेखि निरन्तर पत्रकारिता पेसा अँगाल्दै आउनुभएका दासले उर्लाबारी बहुमुखी क्याम्पस (मोरङ)मा चार वर्षे बिएअन्तर्गत पत्रकारिता विषय थप भएपछि सोही विषय पढ्न थाल्नुभएको हो ।

दास मात्र होइन, व्यवस्थापन सङ्कायतर्फ चौथो वर्षमा नियमित अध्ययन गर्दै गरेका विवेक कार्की पनि पत्रकारिताको महत्त्व बुझी अहिले बिए प्रथम वर्षमा भर्ना भई नियमित अध्ययन गर्दै आउनुभएको छ ।

यी प्रतिनिधि विद्यार्थीका अतिरिक्त पत्रकारिता विषय पठनपाठन सुरु भएपछि उर्लाबारी बहुमुखी क्याम्पस (मोरङ) मा उक्त विषय पढ्ने विद्यार्थीको चाप बढेको पाइन्छ । त्यसमा पत्रकारिता पेसाका नवप्रवेशी मात्र नभई विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार बढी छन् ।

उर्लाबारी क्याम्पसमा पहिलो पटक स्नातक तहमा पत्रकारिता विषयको पढाइ सुरु हुँदा नै ३६ जना विद्यार्थीले नियमितरूपमा अध्ययन गर । चालु शैक्षिकसत्रसमेतमा उक्त विषयमा उल्लेखनीय सङ्ख्यामा विद्यार्थीले भर्ना गरिरहेको क्याम्पस प्रमुख बेधराज भट्टराईले जानकारी दिनुभयो ।

मोरङमा विराटनगरभन्दा बाहिर पहिलो पटक यस क्याम्पसले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा गत शैक्षिकसत्र २०७८ बाट चारवर्षे बिएमा पत्रकारिता विषय पढाउन सुरु गरेको हो ।

पत्रकारिता पढ्नका लागि मूलतः पश्चिमी झापा र पूर्वीमोरङका अधिकांश पालिकाबाट विद्यार्थी आइरहेको भनाइ छ क्याम्पस प्रमुख भट्टराईको ।

इलाम, पाँचथर, धनकुटालगायतका पहाडी जिल्लाबाटसमेत आएका पत्रकारिता विषय पढ्ने विद्यार्थी रहेको सोही विषयका सहायक प्राध्यापक एवं स्वतन्त्र पत्रकार केशव निरौलाले जानकारी दिनुभयो ।

सहायक प्राध्यापक निरौलाका अनुसार विभिन्न आम सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी एवं मिडियाप्रति झुकाव राख्ने विद्यार्थीको पहिलो रोजाइमा पत्रकारिता विषय पर्ने गरेको छ ।

पहिले नै अरू कुनै विषय वा सङ्कायबाट स्नातक उत्तीर्ण गरेका विद्यार्थीले पनि समयको मागअनुसार पत्रकारिता र मास मिडियाको महत्व बुझी पुनःपत्रकारिता विषय पढ्ने गरेको पाइन्छ ।

त्रिविको चारवर्षे स्नातक तहको नयाँ पाठ्यक्रमले व्यावहारिक एवं प्रयोगात्मक विषय ठानी पत्रकारिता तथा आमसञ्चार विषयलाई समयानुकूल अद्यावधिक एवं परिमार्जन गरेको सन्दर्भमा पनि विद्यार्थीको पहिलो रोजाइमा यही विषय पर्ने गरेको विद्यार्थी कार्कीको भनाइ छ ।

विसं २०४३ सालमा स्थापना भएको यस क्याम्पसले सुरुआती वर्षदेखि नै सञ्चालन गरेको मानविकी तथा सामाजिक शास्त्र सङ्कायका कक्षालाई प्रमुखताका साथ निरन्तर सञ्चालन गर्ने सन्दर्भमा पछिल्लो पटक पत्रकारिता र सामाजिककार्य विषय थप गरेको हो ।

व्यावहारिक एवं व्यावसायिक विषयको बढ्दो माग र विद्यार्थीको रुचिसमेतलाई सम्बोधन गर्ने गरी क्याम्पसले गत वर्ष मानविकी सङ्कायमा पत्रकारिता र सामाजिककार्य गरी दुई विषय थप गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष पुष्पलाल ढकालले बताउनुभयो ।

पढाउनेभन्दा पनि सिकाउने परिपाटीको प्रभावकारी कार्यान्वयनमा रहेको क्याम्पस गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्तिको अन्तिम चरणमा रहेकाले पनि उच्च शिक्षातर्फ पूर्वी मोरङ्मै विद्यार्थीको पहिलो रोजाइमा पर्न सफल भएको बताउनुहुन्छ क्याम्पस सञ्चालक समिति सदस्य मुक्ति न्यौपाने ।

यसै गरी मोरङकै पथरी शनिश्चरे–१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयमा पनि आमसञ्चार तथा पत्रकारिता पढ्ने विद्यार्थीको सङ्ख्या बढ्दो छ ।

सुरुआती वर्ष (२०७८ साल) मा नै यस विद्यालयमा ४८ जना विद्यार्थीले कक्षा ११ मा ऐच्छिक विषयका रूपमा आमसञ्चार तथा पत्रकारिता अध्ययन गरेको प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले जानकारी दिनुभयो ।

प्रअ बुढाथोकीका अनुसार हाल नयाँ शैक्षिक शत्रमा कक्षा ११ मा ५६ जना विद्यार्थीले आमसञ्चार विषय अध्ययन गरिरहेका छन् । पूर्वोत्तर मोरङमा पहिलोपटक पञ्चायत माविले कक्षा ११ र १२ मा ऐच्छिक विषयको रूपमा आमसञ्चार विषय थप गरी पढाउन थालेपछि मिडियाप्रति झुकाव राख्ने विद्यार्थीको आकर्षण बढेको भनाइ छ विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष आइताकुमारी तुम्बापोको ।

सरकारको नमुना विद्यालय कार्यक्रमसमेतमा परेको पञ्चायत माविले कक्षा ११ र १२ मा आमसञ्चार तथा पत्रकारिता विषयका अतिरिक्त विज्ञान, सिभिल इन्जिनियरिङ, कानुन, ललितकला (फाइन आर्ट्स), व्यवस्थापन, मानविकी र शिक्षा समूहअन्तर्गत विभिन्न विषयको पढाइ गर्दै आएको छ ।

व्यावसायिक एवं प्रायोगिक मानिएको आमसञ्चार एवं पत्रकारिता विषयको अध्ययनपछि छिट्टै स्वरोजगार बन्ने र आफ्नो क्षमता विकास गरी समाजमा भिन्न पहिचान स्थापित गर्न भएकाले पनि विद्यार्थीको आकर्षण बढ्दै गएको बताउनुहुन्छ, सञ्चार क्लब नेपाल, उर्लाबारीका अध्यक्ष नवराज भट्टराई ।

अध्यक्ष भट्टराईका अनुसार पत्रकारिता पढेकोे व्यक्ति सरकारी तथा निजी सञ्चारमाध्यममा संवाददाता हुँदै प्रधान सम्पादक, मिडिया प्रतिनिधि, मिडियाको कानुनी सल्लाहकार, सूचना संयोजक, विज्ञापन एजेन्सीसहित प्रकाशन गृहमा सम्पादक र प्रशिक्षकसमेत बन्न सहज हुँदा विद्यार्थीको आकर्षण बढ्नु स्वाभाविक हो ।

नेपाल पत्रकार महासङ्घ, मोरङले पत्रकारको पेसागत क्षमता विकासलाई ध्यान दिँदै स्थानीयस्तरमै पत्रकारिता शिक्षा आर्जन गर्ने व्यवस्था मिलाउन माग राखी गतवर्ष ज्ञापनपत्र बुझाएपछि यी दुवै शैक्षिक संस्थाले एकैपटक पत्रकारिता विषयको पठनपाठन सुरु गरेका हुन् ।

जसमा उर्लाबारी क्याम्पसले स्नातक तह र पञ्चायत माविले कक्षा ११ मा उक्त विषय पठनपाठन गर्ने व्यवस्था मिलाएको महासङ्घ मोरङका उपाध्यक्ष मोहन भट्टराईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया