सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाको हर्ष बढाइँ (फोटो फिचर)

  फागुन ०६, २०७९

काठमाडौं, फागुन ६ : नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा शनिबार विशेष समारोहबीच युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरिएको छ । नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी २६० औँ स्थापना दिवस मनाएको हो ।

सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिको उपस्थिति थियो ।

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले विशेष कला प्रदर्शनी गरेका थियो । राष्ट्रपति भण्डारीले सो अवसरमा त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नुभएको थियो ।

हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको थियो । सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

भारतीय सेनाको गोर्खा रेजिमेन्ट र बेलायत आर्मीको टोलीद्वारा व्याण्ड प्रस्तुति समेत भएको थियो । जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ।

नेपाली सेनाको प्रधानसेनापति प्रभुराम शर्मा हुनुहुन्छ । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसको रूपमा मनाउने गर्दछ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यमा नेपाली सेना सन् १९५८ देखि संलग्न रहँदै आएको छ । शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकको सूचीमा नेपाल अग्रणी स्थानमा पर्दछ ।

तपाईको प्रतिक्रिया