कर्णालीको समस्या समाधानको बहस जरुरी छ : मुख्यमन्त्री शर्मा

  फागुन ०५, २०७९

कर्णाली, फागुन ५ : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशको समस्या समाधान गर्ने बहस निरन्तर गर्नुपर्ने बताउनुभएको छ ।

ऋति फाउण्डेशनको आयोजनामा आजदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको प्रसिद्ध पर्यटकीयस्थल बुलबुले उद्यान क्षेत्रमा सुरु भएको गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’ चौथो संस्करणको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विद्यमान समस्या समाधानका लागि बहस जरुरी रहेको बताउनुभयो ।

मुख्यमन्त्री शर्माले भन्नुभयो, “समृद्ध कर्णाली निमार्णको लागि शिक्षा, स्वास्थ्य, रोजगार त्यसका लागि पूर्वाधार अपरिहार्य सवाल हो । बहसमार्फत नीति निर्माण र कार्यान्वयनमा अपनत्वलाई अगाडि बढाउँदै लैजानुपर्दछ ।”

समृद्ध कर्णाली निर्माणमा बहसले महत्वपूर्ण भूमिका खेल्ने भन्दै उहाँले समाजवादको यात्रामा सबैलाई लामवद्ध हुन आह्वान गर्नुभयो ।

फागुन ५–७ गतेसम्म हुने कर्णाली उत्सव चौथो संस्करण पहिलो दिन राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हामी कसरी जोडियौँ रु भन्ने विषयमा आफ्नो प्रस्तुति राख्नुभयो ।

तातोपानी गाउँपालिका जुम्ला लाम्रा संवादका आयोजक नारायणी चौलागाईंले कर्णाली उत्सवदेखि लाम्रा संवादसम्मको विषयवस्तु र निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोखरेलले निर्वाचन र लोकतन्त्रका विषयमा विद्धत प्रवचन दिनुभयो ।

आजको पहिलो सत्रमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा।नन्दबहादुर सिंहले ‘कर्णाली चिन्तन’ शीर्षकमा विचार व्यक्त गर्नुभयो ।

दोस्रो, तेस्रो, चौथो र पाँचौँ सत्रमा क्रमश ‘कर्नाली खेल्दो छ’, ‘यो सहर–त्यो रहर’, ‘भोट र भेट’, ‘शिक्षा र समर्पण’ शीर्षकमाथि बहसमा विभिन्न क्षेत्रसँग सम्बन्धित १० जना वक्ताले भाग लिएका थिए ।

आजै कर्णालीको पैकेलो (नायक)का रुपमा गायक सुरज पण्डितले आफ्नो कथा प्रस्तुत गर्नुभयो । त्यसको लगत्तै आयोजक संस्थाले पण्डितलाई सम्मान गरेको थियो । साङ्गीतिक साँझ गरी कार्यक्रम सम्पन्न भयो । उत्सव फागुन ७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया