शिक्षासेवी घिमिरे अभिनन्दित

  माघ २८, २०७९

सुन्दरहरैँचा,माघ २८ : इटहरीका शिक्षासेवी तथा साहित्यकार लेखनाथ घिमिरेलाई ७७औँ जन्मोत्सवको अवसरमा नागरिक अभिनन्दन गरिएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाको प्रमुख आतिथ्यतामा घिमिरेलाई अभिनन्दन गरिएको हो ।

समारोहमा थपलियाले शिक्षाको विकासमा लगानी गर्ने अभियन्तालाई अभिनन्दन गर्न पाउनु आफ्नो सौभाग्य भएको बताउनुभयो । घिमिरेलाई उहाँकै कद बराबरको अभिनन्दन पत्रले अभिनन्दित गरिएको थियो । उहाँलाई रथारोहणसहित इटहरी नगर परिक्रमा गराएर अभिनन्दन गरिएको थियो ।

उक्त अवसरमा लेखनाथ घिमिरे अभिनन्दन ग्रन्थ ‘सार्थक जिन्दगी’ समेत सार्वजनिक गरिएको छ । ग्रन्थमा एक सय ३० भन्दा बढी लेखकले घिमिरेबारे लेख लेखेका छन् ।

अभिनन्दित भएपछि घिमिरेले आफूलाई नागरिक अभिनन्दन गरेकाले प्रभावित तथा खुसी लागेको बताउनुभयो । आगामी दिनमा समाजका लागि सकारात्मक काम गरी मार्गदर्शन प्रस्तुत गर्ने घिमिरेको भनाइ छ ।

कार्यक्रममा प्रदेश १ का १४ वटै जिल्लाबाट, अन्य प्रदेशका २५ जिल्लाबाट तथा भारतको विभिन्न प्रदेशबाट उल्लेख्य सहभागिता रहेको आयोजक समितिका संयोजक अनिल पौडेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया