संविधानको रक्षा, प्रयोग र विकासमा जोड दिनुपर्छ : प्रदेश प्रमुख

  माघ २१, २०७९

कर्णाली, माघ २१ : कर्णाली प्रदेशका प्रमुख तिलक परियारले संविधानको रक्षा, प्रयोग र विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । कर्णाली प्रदेशसभाको पाँचौँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले संविधानको रक्षा र त्यसको सफल प्रयोगबाट मात्र सङ्घीयताको प्रभावकारी कार्यान्वयन हुने बताउनुभयो ।

सोही क्रममा प्रदेश प्रमुख परियारले निवर्तमान सरकारका अधुरा योजना पूरा गर्न, नीति, योजना र कार्यक्रम वैज्ञानिक ढङ्गले सञ्चालन गरी कर्णालीवासीको आवश्यकता सम्बोधन गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “कर्णाली र भेरी करिडोरको निर्माणकार्य सम्पन्न हुनुपर्छ ।

सबै पालिकालाई राष्ट्रिय सडक सञ्जालमा जोडेर विद्युतीकरण, सिँचाइ नहर र कुलोको काम सम्पन्न गर्न समेत तीनै तहका सरकारले प्राथमिकतामा राखिनुपर्दछ ।” सामाजिक, सांस्कृतिक रुपान्तरणका लागि विशेष कार्यक्रम तर्जुमा गरी लोपोन्मुख राउटे र बादी समुदायको समस्या समाधान गर्न उहाँले प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

‘परम्पराको पुच्छर नसमाती आजको मागअनुसार काम गर्छौँ’

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले परम्परागत पुच्छर नसमाती आजको आवश्यकताअनुसार काम गर्ने बताउनुभयो । उहाँले तर्क हजार गरे पनि सत्य, तथ्य एउटै हुने भन्दै आवश्यकता बोध गरी आइपर्ने समस्यामा एकीकृत भएर जानुपर्नेमा जोड दिनुभयो । “हामी विगतको गलत संस्कृति त्यागेर अगाडि बढ्छौँ । यसमा सहयोग चाहिएको छ”, उहाँले भन्नुभयो, “यद्यपि निवर्तमान सरकारले कोरेको सही गोरेटोमा रहेर काम गर्दछौँ ।”

कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले प्रदेशसभाको जग बसालेर ऐतिहासिक संरचना स्थापित गर्ने प्रथम कार्यकालका सभामुख तथा प्रदेशसभा सदस्यप्रति कृतज्ञता प्रकट गर्नुभयो । आफूलाई इतिहासमै पहिलो महिला सभामुख बनाएकोप्रति खुसी व्यक्त गर्दै उहाँले अब प्रदेशसभाको भावी उन्नति र प्रगतिको बाटोमा निरन्तर लाग्ने कुरामा विश्वस्त रहेको बताउनुभयो ।

नेपाली कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले सङ्घबाट कर्मचारी नपठाउँदा कर्णालीको विकासमा समस्या भएको बताउनुभयो । नेकपा ९एमाले० कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले बन्नेभन्दा पनि बनाउने कुरामा ध्यान दिएर कर्णालीको विकास र समृद्धिको अभियान लाग्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वसभामुख राजबहादुर शाहीले बसालिएको जगमाथि टेकेर प्रदेशसभा सदस्य र कर्णाली सरकारले यहाँको नागरिकको जीवन रुपान्तरणमा लाग्न अनुरोध गर्नुभयो । कार्यक्रममा कर्णाली प्रदेशसका उपसभामुख यशोदा न्यौपानेले कर्णालीमा सभामुख र उपसभामुख दुवै महिला हुनु लामो सङ्घर्ष र मुक्ति आन्दोलनको उपलब्धि भएको बताउनुभयो ।

स्थापना दिवसका अवसरमा प्रदेश प्रमुख परियारले प्रदेशसभा सचिवालयद्वारा प्रकाशित स्मारिका विमोचन गर्नुभयो । कार्यक्रममा सचिवालयका कार्यरत उत्कृष्ट कर्मचारी र पूर्व प्रदेशसभा सदस्यलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया