प्रदेश प्रमुख मिश्रको अनुरोध : सहिदहरूको सपना पूरा गर्न लाग्नुहोस्

  माघ २१, २०७९

महेन्द्रनगर (धनुषा) माघ २१ : मधेस प्रदेशका प्रमुख हरिशङ्कर मिश्रले सहिदहरूको सपना पूरा गर्ने कार्यमा लाग्न सांसदहरूलाई अनुरोध गर्नुभएको छ । आज मधेस प्रदेशसभाको पाँचौँ स्थापना दिवस समारोहमा प्रदेश प्रमुख मिश्रले मधेसी सहिदको सपनालाई मनन गरी अगाडि बढ्न सांसदसँग आग्रह गर्नुभयो ।

ज्यानको आहुति दिने सहिदको विचारलाई ध्यानमा राखी प्रदेशको विकासमा ध्यान दिनसमेत आग्रह गर्दै भन्नुभयो, “मधेस प्रदेशमा सुशासन र सुलभ सेवाका लागि प्रदेशसभाले भूमिका निर्वाह गर्ने विश्वास लिएको छु ।”

समारोहमा सभामुख रामचन्द्र मण्डलले मधेस प्रदेशसभाले पछिल्लो पाँच वर्षमा उल्लेख्य काम गरेको बताउनुभयो । कम स्रोत साधनका बाबजुद जनअपेक्षित काम गरेको उहाँको भनाइ छ । सभामुख मण्डलले प्रदेशसभाको आफ्नै भवनको आवश्यकता रहेको पनि बताउनुभयो ।

सभामुख मण्डलले प्रदेशसभालाई जीवनोपयोगी बनाउनुपर्ने भन्दै यसका लागि कडा मेहनत गर्न पनि सांसदसँग अनुरोध गर्नुभयो । उहाँले प्रदेशसभाको वार्षिकोत्सवमा धेरै सांसद अनुपस्थित भएकामा दुःखसमेत व्यक्त गर्नुभएको थियो । उहाँले सङ्घीयता खर्चिलो व्यवस्था रहेको भनेर टिप्पणी हुन थालेकोप्रति असन्तुष्टि जनाउनुभयो ।

वार्षिकोत्सवका अवसरमा भएका विभिन्न कार्यक्रम तथा प्रतियोगितामा सहभागी सांसद तथा कर्मचारीलाई सम्मान गरिएको थियो । विसं २०७४ माघ २१ गते पहिलो प्रदेशसभा बैठक बसेको थियो । सोही अवसरमा पत्येक वर्ष माघ २१ गते प्रदेशसभा सचिवालयले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउने गरेको छ । मधेस प्रदेशसभामा कुल एक सय सात सांसद छन् । तर वार्षिकोत्सवमा अधिकांश सांसद अनुपस्थित थिए ।

मधेशको विकास बुलेट ट्रेनजस्तै हुन्छ : मुख्यमन्त्री यादव

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेसको विकास बुलेट ट्रेनजस्तै हुने बताउनुभयो । उहाँले भन्नुभयो, “मधेस सरकार हिजो बल्ल पूर्णता पायो, आज प्रदेशसभाको वार्षिकोत्सव कार्यक्रम प¥यो, मन्त्री र सचिवसँग बसेर भोलिदेखि नै सरकारको काम बुलेट ट्रेनको जस्तो तीव्रगतिमा आगाडि बढ्छ ।”

मुख्यमन्त्री यादवले प्रदेशमा हुने भ्रष्टाचार नियन्त्रण गरेरै छाड्नेसमेत पुनः दोहो¥याउनुभयो । स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन आफ्नो मुख्य प्राथमिकतामा रहेको उहाँको तर्क थियो । विगतमा सभामुख हुँदा सम्पूर्ण माननीयको सहयोग र सद्भावले आफूले ऐन, कानुनमात्र नभई प्रदेशको नाम र राजधानीजस्तो संवेदनशील विषयसमेत सहमतिमै पारित गराउन सफल भएको बताउँदै उहाँले यस कार्यकालमा पनि सहयोग र सद्भाव पाए राम्रो काम गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया