‘नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी’ पुस्तक विमोचन

  माघ २१, २०७९

काठमाडौँ,माघ २१ : रतन भण्डारीले लेखेको ‘नेपालको पहिलो महिलामन्त्री द्धारिकादेवी ठकुरानी’ पुस्तक विमोचन गरिएको छ ।

नेपालको पहिलो महिला मन्त्रीबारे लेखिएको उक्त पुस्तकको नेकपा (एमाले)का नेता डा भीमबहादुर रावल र कांग्रेस नेता रमेश लेखकले आज संयुक्त रुपमा विमोचन गर्नुभयो ।

पूर्वउपप्रधानमन्त्री रावलले नागरिकता जस्तो संवेदनशील विषयमा विवादमा परेका व्यक्तिलाई फेरि गृहमन्त्री बनाउन सत्तारुढ दलभित्र छलफल हुनु राम्रो कुरा नभएको बताउनुभयो ।

“वैदेशिक रोजगार कम्पनी खोलेका व्यक्तिलाई श्रममन्त्रीबनाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र र द्वारिकादेवी ठकुरानी जस्तो विरङ्गानाहरुको योगदानको अवमूल्यन हुने काम भएको छ”, उहाँले भन्नुभयो ।

उहाँले कांग्रेसले स्वतः पाउने प्रमुख प्रतिपक्षी दलको हैसियतका लागि संसद् सचिवालयमा निवेदन दिनु आश्चर्यजनक भएको बताउनुभयो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले द्वारिकादेवी ठकुरानीको योगदानकै कारण हाल संसद्मा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित भएको धारणा राख्नुभयो । राजनीतिक रुपमा देखिएका समस्यालाई हल गर्दै जानका लागि आफ्नो पार्टी लागेको उहाँको भनाइ थियो छ ।

द्वारिकादेवी ठकुरानीलाई नेपालको पहिलो सफल महिला मन्त्रीको रुपमा आफूले पाएको स्मरण गर्नुभयो । कांग्रेसले द्वारिकादेवी ठकुरानीको पद चापलाई पछ्याउँदै अघि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया