सहकारीका बचतकर्ताको रकम सुरक्षामा जोड

  माघ २०, २०७९

देउखुरी, माघ २० : रुपन्देहीस्थित सहकारी संस्था सङ्कटमा पर्दै गएपछि सरकारले बचतकर्ताको रकम सुरक्षाको प्रक्रिया थाल्नुपर्नेमा सहकारी अगुवाले जोड दिएका छन् ।

बुटवलमा आज आयोजित सहकारी क्षेत्रमा देखिएका समस्या र समाधान विषयक कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष टिकाराम पोखरेलले प्रदेशमा केही सहकारीमा समस्या देखिएकाले सरकारले कानुनी प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।

उहाँले सहकारीको मर्मभन्दा बाहिर बचतकर्ताको रकममा सञ्चालकले चलखेल गर्दा समस्या देखिएको बताउनुभयो । उपाध्यक्ष पोखरेलले केही संस्थाले आफूखुसी लगानी गर्दा समस्या आएकाले सहकारीमा देखिएको समस्यालाई तीन तहका सरकारको सक्रियताले मात्र समाधान गर्न सकिने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “यसबारे हामी छलफल गरिरहेका छौँ, छिट्टै देखिने गरी काम गर्छौँ ।”

लुम्बिनी प्रदेशका सहकारी रजिष्ट्रार भीमप्रसाद तिवारीले सहकारीमा सुशासन नभएको पाइएकाले सुधार गर्न निर्देशन दिएको र नमाने कानुनी दायरमा ल्याइने बताउनुभयो । सहकारीले मूल्य मान्यता पालना नगरेको, गतल लेखा परीक्षण गरी चलाएको जस्ता कारणले पछिल्लो समय सहकारीमा समस्या देखिएको उहाँले बताउनुभयो ।

प्रदेश बचत तथा ऋण सहकारी सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण नेपालले समुदायमा आधारित सहकारीमा समस्या नभएको तर कारोबारी सदस्य बनाइएका सहकारीमा समस्या रहेको स्पष्ट पार्नुभयो । राष्ट्रिय सहकारी बैंकका सञ्चालक सदस्य माधवलाल देवकोटाले सहकारी संस्थाले कारोबारी सदस्य बनाएका कारण समस्या निम्तिएको, वित्तीय अनुशासन पालना नहुँदा अनुपातमा बचत सङ्कलन गरी ऋण एकल रुपमा बढी लगानी गरेकाले सहकारी समस्यामा पर्न थालेका बताउनुभयो ।

जिल्ला सहकारी सङ्घ रुपन्देहीका अध्यक्ष भीम तुलाचनले सहकारीमा सरलीकरण र सहजीकरण नहुँदा आर्थिक सुशासन कायम हुन नसकेकाले यसमा बेथिति आएको बताउनुभयो । बुटवल उपमहानगरपालिकाअन्तर्गत सहकारी शाखा प्रमुख गुनाखर खनालले उपमहानगरमा दर्ता भएका एक सय ३६ सहकारीमा कुनै समस्या नभएको उल्लेख गर्नुभयो ।

उहाँले उपमहानगर क्षेत्रका सहकारीमा ६० हजार शेयर सदस्य आवद्ध हुनुका साथै रु सात अर्ब ४० करोड लगानी भएको जानकारी दिनुभयो । लुम्बिनी प्रदेशका सहकारीमा २०७७ सालको तथ्याङ्कअनुसार तीन हजार सात सय ५५ सहकारीले रु ४२ अर्ब लगानी, रु ६० अर्ब निक्षेप तथा रु छ अर्ब सेयर पुँजी रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया