बाख्रापालनबाट चार लाख आम्दानी

  माघ २०, २०७९

तनहुँको म्याग्दे गाउँपालिका–५ चिमखानाका कृषक कृष्ण खड्काले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

विगत केही वर्षदेखि बाख्रापालन व्यवसाय सुरु गर्नुभएका उहाँले बाख्रापालनबाट भएको आम्दानीले घरखर्च चलाउँदै आउनुभएको हो । उहाँले बाख्रापालनबाट वार्षिक करिब रु चार लाख आम्दानी गर्दै आउनुभएको छ । कृपा कृषि तथा पशु फार्म दर्ता गरेर बाख्रापालन गर्नुभएका खड्का फार्ममा अहिले २८ वटा बाख्रा छन् । खड्कालाई बाख्रापालनका लागि श्रीमती, छोरा र बुबाले सघाउँदै आउनुभएको छ ।

“जहाँ गए पनि केही न केही गर्नुपर्दछ, त्यो भन्दा आफ्नै गाउँमा नै बाख्रा र कृषि गर्छु भन्ने सोचसहित व्यवसाय सुरु गरेको हुँ”, उहाँले भन्नुभयो । लगातारको निरन्तर प्रयासले बाख्रापालनबाटै घरखर्च चलेको उहाँको भनाइ छ । “घरमा खाली बस्नुपरेको छैन । आम्दानीको स्रोत पनि बनेको छ”, उहाँले भन्नुभयो, “काममा दत्तचित्त भएर लाग्ने भए पैसा कमाउन विदेश जानुपर्दैन ।”

खड्काले बाख्राका लागि आवश्यकपर्ने घाँसखेती गर्नुभएको छ । आफ्नै जग्गामा घाँसखेती गरिरहेको उहाँले बताउनुभयो । “स्थानीय जातका बाख्राको मूल्य राम्रो हुने र जोखिम पनि कम हुँदा व्यवसायले सन्तुष्टि दिएको छ”, उहाँले भन्नुभयो ।

कृषक खड्काले बाख्रापालनबाट खर्च कटाएर मासिक रु ३० हजारभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । “बाख्रा बिक्रीका लागि बजारको समस्या छैन, खर्च कटाएर बचेको पैसाले घरखर्च चल्दै आएको छ”, उहाँले भन्नुभयो ।

उहाँले बाख्रापालका अलवा तरकारी खेती पनि गर्दै आउनुभएको छ । पाँच रोपनी क्षेत्रफलमा काउली खेती गर्नुभएका खड्काले तरकारी बिक्रीबाट पनि राम्रो आम्दानी भएको बताउनुभयो । “बजार नजिक भएका कारण तरकारी बिक्रीमा समस्या छैन”, उहाँले भन्नुभयो । पशुपालनमा लागे पनि कतैबाट केही अनुदान नलिएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया