शहीद चन्दको जन्मघरमा विशेष कार्यक्रम, शहीद परिवारलाई सम्मान र भत्ता

  माघ १६, २०७९

बैतडी, माघ १६ : बैतडीको पुर्चौँडी नगरपालिकाले शहीद परिवारलाई सम्मान र भत्ता वितरण गरेको छ । आज शहीद दिवसका अवसर पारेर नगरपालिकाभरिका ३१ शहीद परिवारका सदस्यलाई नगदसहित सम्मान गरिएको हो ।

नगरप्रमुख दीपकबहादुर बमका अनुसार नगरपालिकाभरि रहेका ३१ परिवारलाई २५ हजारका दरले निर्वाह भत्तासहित सम्मान गरिएको छ । नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार शहीद परिवारलाई निर्वाह भत्ता र सम्मान गरेको हो ।

लोकतन्त्र स्थापनाका लागि विभिन्न समयमा आफ्नो प्राणको आहुति दिएका शहीद परिवारलाई निर्वाह भत्तासहित सम्मान गरिएको हो । यसैगरी जनआन्दोलन तथा जयुद्धका क्रममा घाइते भएकाको बीमा गरी निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णयसमेत भएको छ ।

नगरप्रमुख दीपकबहादुर बमको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी प्रमुख अतिथि रहेका थिए । यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दमनबहादुर कुँवर, पुर्चौंडी नगरपालिकाका उपप्रमुख मीना धानुक लगायतको सहभागिता रहेको थियो ।

यसैबीच शहीद दशरथचन्दको जन्मघरमा एक विशेष कार्यक्रमको आयोजना गरिएको छ । शहीद दिवसका अवसरमा शहीद दशरथचन्द स्मृति प्रतिष्ठान सुन्दरखालीबाट प्रभातफेरीको आयोजना गरी शहीद चन्दको जन्मघर बस्कोटमा कार्यक्रमको आयोजना गरिएको हो ।

शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ), दशरथचन्द नगरपालिकाका उपप्रमुख, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, विद्यार्थी, शिक्षक र स्थानीयको सहभागिता रहेका थियो ।

कार्यक्रमका वक्ताहरूले शहीद दशरथचन्द स्मृति प्रतिष्ठानलाई सरकारी प्रतिष्ठान बनाउनुपर्ने माग गरेका छन् । नगरप्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले शहीदका सपना साकार पार्नका लागि दशरथचन्द स्मृति प्रतिष्ठानलाई सरकारी प्रतिष्ठान बनाउनका लागि पहल गर्ने बताउनुभयो ।

कोभिडका कारण विगत तीन वर्षदेखि कार्यक्रम गर्न नपाएको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानले यो वर्ष शहीदको जन्मघर बस्कोटमै कार्यक्रमको आयोजना गरिएको हो ।

शहीदको जन्मघरलाई पाहुना घरका रुपमा विकास गरिएको बताउँदै प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले शहीद चन्दको जन्मघरलाई सङ्ग्रहालयका रुपमा विकसित गर्ने आफूहरुको योजना रहेको जानकारी गराउनुभयो । यसका लागि सरकारले प्रतिष्ठानलाई सरकारी प्रतिष्ठानका रुपमा अगाडि बढाउनुपर्नेमा उहाँका जोड थियो ।

शहीद दशरथचन्दको जन्मघरलाई उहाँको जीवनको स्रोतका रुपमा विकसित गर्ने उद्देश्य रहेको र शहीद चन्दका नाममा खोलिएको प्रतिष्ठानले विभिन्न सामाजिक कार्य पनि गर्दै आएको छ ।

दशरथ चन्दको जन्म विसं १९६० असारमा बैतडी जिल्लाको बस्कोटमा पिता शेरबहादुर चन्द र आमा पार्वती चन्दको कोखमा माइला छोराका रूपमा भएको थियो । तत्कालीन राणा सरकारले विसं १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएको थियो ।

तपाईको प्रतिक्रिया