‘कोरोना रोकथाममा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको योगदान बिर्सन सकिन्न’

  माघ १०, २०७९

काठमाडौँ, माघ १० : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले कोरोना भाइरसको सङ्क्रमण रोकथाममा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले पु¥याएको योगदान बिर्सन नसकिने बताउनुभएको छ ।

अस्पतालको ८९ औँ वार्षिकोत्सवमा आज उहाँले कोरोना सङ्क्रमणजस्तो महामारीको रोकथाम र नियन्त्रणमा अस्पतालले महत्वपूर्ण योगदान दिएको बताउँदै त्यस कठिन घडीमा स्वास्थ्यकर्मीले उच्च मनोबलका साथ काम गरेको स्मरण गर्नुभयो । उहाँले सङ्क्रमण रोकथाम र नियन्त्रणमा स्वास्थ्यकर्मीले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।

मन्त्री गिरीले कोरोना भाइरस सङ्क्रमण रोक्नका लागि निर्वाह गरिएको भूमिकाका आधारमा जस्तोसुकै महामारीलाई पनि सामाना गर्नसक्ने क्षमता अस्पतालका स्वास्थ्यकर्मीले देखाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा कसरी पु¥याउन सकिन्छ भनेर सबैले सङ्कल्प गर्नुपर्ने समय आएको बताउनुभयो ।

“सबै नागरिकलाई कसरी गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन सकिन्छ भन्नेमा हाम्रो ध्यान जान जरुरी छ”, उहाँले भन्नुभयो, “सुदृढ स्वास्थ्य प्रणााली बनाउन सबै मिलेर काम गर्नुपर्छ ।” नेपालको स्वास्थ्य क्षेत्र भरपर्दो, अब्बल छ भनेर सावित गर्ने दायित्व हामी सबैको रहेको भन्दै मन्त्री गिरीले सबै रुपले स्वास्थ्य क्षेत्रलाई मर्यादित र जनतामुखी बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले अस्पताललाई कम्तीमा पाँच सय शय्याको बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले अस्पतालको सेवालाई विकेन्द्रीत गरेर अन्य ठाउँबाट पनि सरुवा रोगका बिरामीको उपचार गर्नुपर्ने बताउनुभयो । उहाँले कोरोना भाइरसका बेला देशै भयभित रहेको अवस्थामा अस्पतालले पु¥याएको सेवा कहिल्यै बिर्सन नहुने बाउनुभयो ।

मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले अस्पताललाई चाहिने जनशक्ति उपलब्ध गराउन मन्त्रालय लागिपरेको बताउनुभयो । उहाँले तीन सय शय्याका लागि मन्त्रालयले दरबन्दीको व्यवस्थापन गर्न थालेको समेत जानकारी दिनुभयो ।

मन्त्रालयका अतिरिक्त सचिव डा सङ्गीता कौशल मिश्राले अस्पतालले कोरोना भाइरसको बेला मात्र नभएर हैजा, डेङ्गुजस्ता महामारी रोकथाममा राम्रो भूमिका निर्वाह गरेको बताउनुभयो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले अस्पतालले प्रदान गर्ने सेवा उदाहरणीय रहेको भन्दै सरुवा रोगलाई निमट्यान्न पार्नुपर्ने बताउनुभयो ।

अस्पतालका कार्यकारी निर्देशक डा मनिषा रावलले अस्ताललाई तीन सय शय्या विस्तार गर्न थालिएको जानकारी दिनुभयो । विसं १९९० मा कलेरा अस्पतालको रुपमा रहेको अस्पताललाई २०५३ सालमा सरुवा रोग अस्पतालको रुपमा विकास गरिएको थियो । उहाँका अनुसार अस्पतालले विगत डेढ वर्षदेखि अस्पतालले निःशुल्क कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । अहिलेसम्म एक लाख १२ हजारलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराइएको छ ।

उहाँले अस्पतालमा सबैभन्दा बढी कुकुरले टोकेका बिरामी आउने गरेको बताउनुभयो । उहाँका अनुसार दैनिक तीन सयदेखि चार सय कुकुरले टोकेका बिरामी आउने गर्दछन् ।

तपाईको प्रतिक्रिया