कांग्रेसको निर्णयप्रति एमाले अध्यक्ष ओलीको आशंका

  पुष २६, २०७९

काठमाडौं, पुस २६ : सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई विश्वासको मत दिने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको निर्णयप्रति आशंका व्यक्त गर्नुभएको छ।

मंगलबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्तुत गर्नु भएको सरकारलाई विश्वासको मत दिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले कांग्रेसको सो निर्णयमा कुनै खालको जालझेल हुनसक्ने बताउनु भएको हो। उहाँले त्यो निर्णय कुनै जाल हो भने त्यसलाई सफल हुन नदिने चेतावनीसमेत दिनुभयो। यदि त्यो जाल हो भने माछा नभएको खोलामा फ्याँके जस्तै हुने अध्यक्ष ओलीको भनाइ छ।

नेपाली कांग्रेसले सदासयताबाहेक अन्य प्रयोजनका लागि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो भने त्यो जालमा माछा नपर्ने उहाँले बताउनुभयो। ओलीले भन्नुभयो, ‘‘म सबै सांसदजीलाई प्रधानमन्त्रीलाई विश्वासको मतमा समर्थन गर्न आग्रह गर्दछु। त्यसमध्ये प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले समर्थन जनाइसकेको छ। यदि यो समर्थन भित्र सदासयताबाहेक अरु कुरा छैन भने, यदि यो समर्थन कुनै जाल होइन भने या समर्थन कुनै ढोक्सा होइन भने स्वागतयोग्य छ।’’

अध्यक्ष ओलीले संसद विघटन गरेर माघ १९ ल्याउने काम गरेकाले कांग्रेस सभापति शेरबहादुर देउवाले संसद विघटनको हरेक निर्णयमा प्रतिगमन देख्ने गरेको कटाक्षसमेत गर्नुभयो।

उहाँले निर्वाचन हुन्छ भने त्यस्तो खालको संसद विघटन जायज हुने आफ्नो अडानसमेत दोहो¥याउनु भयो। त्यस अवसरमा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई विश्वासको मत प्राप्त गर्नका लागि प्रस्ताव प्रस्तुत गर्ने सन्दर्भमा प्रस्तुत गर्नुभएको सम्बोधन देश र जनताको आशा अनुसार भएको भन्दै सबै राजनीतिक दलले त्यसलाई समर्थन गरेर जानुपर्ने बताउनुभयो।

स्रोत : गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया