सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउँछु : प्रधानमन्त्री

  पुष २६, २०७९

काठमाडौं, पुस २६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मङ्गलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले आफू निषेध, अपमान र प्रतिशोधका आधारमा अगाडि नबढी सहमति र सहकार्यका आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताउनुभएको हो । उहाँले सामाजिक न्याय, सुशासन र समृद्धिको संकल्प आफूले लिएको र त्यसलाई पूरा गर्न आफूले संसदमा विश्वासको मत मागेको पनि स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले बामपन्थी र लोकतान्त्रिक शक्तिहरु मिलेर मात्रै मुलुकमा सार्थक परिवर्तन सम्भव भएको उल्लेख गर्दै आफूले सोही बाटोबाट अघि बढने नीति लिएको बताउनुभयो । उहाँले राजनीतिक दलहरु मिल्दा मुलुक अगाडि बढेको र नमिल्दा संकटको सामना गर्नु परेको तथ्य पनि स्मरण गराउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘म यो सार्वभौम संसदमा सामाजिक न्याय, सुशासन र समृद्धिको संकल्पसहित प्रधानमन्त्रीमा विश्वासको मत माग्नका लागि उपस्थित भएको छु । प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि प्रतिबद्ध छु । यो देशमा जतिपनि सार्थक परिवर्तन भएका छन् ।’’

विश्वासको मत माग्नुहुँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘बामपन्थी र लोकतान्त्रिक शक्ति मिलेर भएका छन् । १०४ वर्ष लामो राणा शासन होस् वा ३० वर्ष लामो पञ्चायती निरंकुशता बाम लोकतान्त्रिक सहकार्यबाट नै समाप्त भएको हो । १२ बुँदै समझदारी विस्तृत शान्ति सम्झौता, संविधान सभा र सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामी बीचको सहकार्यकै परिणाम हो । राष्ट्रिय सङ्कटका संवेदनशील क्षणहरुमा पनि हामी राजनीतिक शक्तिहरु एकै ठाउँमा उभिँदै आएका छौं । हामी मिल्दा देश अगाडि गएको छ । नमिल्दा देश सङ्कटतिर गएको छ ।’’

प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीको रुपमा आफ्नो पहिलो कार्यकाल सोचेजस्तो नभएको, दोस्रो कार्यकालमा केही गरेको र तेस्रो कार्यकालमा मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने संकल्प लिएकाले त्यसमा साथ दिन पनि प्रतिनिधिसभाका सांसदहरुलाई आग्रह गर्नुभएको गोरखापत्रमा छ ।

तपाईको प्रतिक्रिया