काठमाडौं, पुस २५ : प्रतिनिधि सभा बैठकले तीन जना सांसदप्रति शोक प्रस्ताव पारित गरेको छ । आज सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको बैठकले सो शोक प्रस्ताव पारित गरेको हो ।
पूर्व सांसदहरुको निधनप्रति संसद बैठकले एक मिनेट मौनधारण गरेको थियो । ज्येष्ठ सदस्य पशुपति शमशेर जवराको अध्यक्षतामा बसेको बैठकमा उहाँले पेस गर्नुभएको शोक प्रस्ताव बैठकबाट सर्वसम्मतिले पारित भएको थियो ।
नेपाली कांग्रेसका सांसद मैयादेवी श्रेष्ठ, झुलबहादुर आले र नेकपा (एमाले) का सांसद बालकृष्ण ढुङ्गेलप्रति शोक प्रस्ताव पारित गरेको थियो । सांसद श्रेष्ठको गत कात्तिक ६ गते, सांसद आलेको गत मंसिर ९ गते निधन भएको थियो । त्यस्तै, एमाले सांसद ढुंगेलको कात्तिक २२ गते निधन भएको थियो ।
प्रतिनिधि सभाको दोस्रो बैठक भोलि मंगलबार ११ बजे बस्ने ज्येष्ठ सदस्य जवराले बैठकलाई जानकारी गराउनुभयो । दिउँसो १ बजेबाट शुरुभएको संसदको पहिलो बैठक अपरान्ह ४ बजे सकिएको छ । भोलि बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
स्रोत : गोरखापत्र अनलाइन