सार्वभौम संसद्ले नेपाली इतिहासको नयाँ भाष्य रच्न सफल हुनेछ : प्रधानमन्त्री

  पुष २५, २०७९

काठमाडौं, पुस २५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत संसदीय अभ्यास र राजनीतिले मात्रै हामी जनतामाझ फर्कन सक्ने अवस्थामा नभएको बताउनुभएको छ ।

प्रतिनिधि सभाकोे दोस्रो कार्यकालका लागि नवगठित प्रतिनिधिसभाको अधिवेशनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले जनताले सशर्त समर्थन गरेर संसदमा पठाएको कुरा बिर्सिन नहुनेमा समेत जोड दिनुभयो । “हामी भर्खरै जननिर्वाचित भएका छौं तर जनताको हामीमाथिको समर्थन सशर्त छ ।”

उहाँले भन्नुभयो, “हामी सुशासन दिन सक्छौं कि सक्दैनौं ? जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौं कि सक्दैनौं ? यो संसद् हाम्रो परीक्षाको केन्द्र हो । जनताले हामीबाट असाधारण सङ्कल्पको अपेक्षा गरेको छ । हामीले बिर्सन हुँदैन, हामी निरन्तर जनताको निगरानीमा छौं ।”

हजारौं शहीद, बेपत्ता, जेलनेल सहेका र घाइते अपाङ्ग नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट समावेशी संसद् बन्न सफल भएकोतर्फ इङ्गित गर्दै प्रधानमन्त्री प्रचण्डले समावेशी संसद् बनेकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँको भनाइ थियो, “विविधतामा एकता नै हाम्रो शक्ति हो । बहुजाति, बहुभाषी, बहुसांस्कृतिक, बहुधार्मिक र बहुभौगाेलिक विशेषता भएको यो देशमा विविधताकाे सम्मान गर्न सके हामी एकतातिर जान्छौं, यसको सम्मानबिना कृत्रिम एकताको कुरा ग¥र्यौं भने विभाजनतिर जान्छौं ।”

फरक राजनीतिक दृष्टिकोण र पृष्ठभूमिबाट आएका भए पनि जनताप्रति गरिएका प्रतिबद्धता साझा भएकाले सबै एक ठाउँमा उभिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

“मलाई विश्वास छ, हामी प्रतिक्रिया होइन, क्रियाको राजनीति गर्नेछौं र साझा प्रतिबद्धतामा एक ठाउँमा उभिनेछौं ।” उहाँले भन्नुभयो, “भर्खर हामी जनताका बीचबाट आएका हौं । हामीलाई समस्याहरु केलाएर बस्ने छुट छैन, समाधानको सूत्र खोज्नु छ र समाधानतिर जानु छ ।”

सांसदहरुको मनमा नयाँ केही गर्ने आवेग र हुटुहुटी भएको बताउँदै उहाँले अब सबै मिलेर ‘केही हुँदैन’ भन्ने हीनभावनका ठाउँमा आशा र उत्साह जगाउनुपर्ने बताउनुभयो ।

“राजनीतिलाई भावना र उत्तेजनाभन्दा पर आर्थिक समृद्धिमा केन्द्रित गर्नु छ । विभेद र बहिष्करणलाई अस्वीकार गर्दै राष्ट्रिय एकता बलियो बनाउनु छ ।” उहाँले भन्नुभयो, “आर्थिक क्रान्तिको साझा सङ्कल्प गर्दै समृद्ध र न्यायपूर्ण राष्ट्र निर्माण गर्नु छ ।”

व्यवस्थापिका संसद् सार्थक संवादको थलो बन्नेमा आशा व्यक्त गर्नुहुँदै प्रधानमन्त्रीले सहमति र मतभेदहरु पनि मर्यादापूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

“कम्तीमा मेरो प्रयास र अपेक्षा यही हुनेछ ।” उहाँले बिट मार्दै भन्नुभयो, “यो सम्मानित र सार्वभौम संसद् नेपाली इतिहासको नयाँ भाष्य रच्न सफल हुनेछ भन्ने विश्वासका साथ सबै माननीय सदस्यलाई फेरि एकपटक बधाई दिँदै बिदा हुन्छु ।”

तपाईको प्रतिक्रिया