प्रतिनिधि सभाको पहिलो बैठक जारी

  पुष २५, २०७९

काठमाडौं, पुस २५ : मङ्सिर ४ गतेको निर्वाचनपछि सोमबार प्रतिनिधि सभाको पहिलो बैठक सुरु भएको छ । बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले संसद् आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभयो ।

राष्ट्रपति भण्डारीले पठाउनुभएको पत्र पढेर सुनाउँदै उहाँले भन्नुभयो, ‘‘नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम संवत् २०७९ पुस २५ गते सोमबारको दिन १३ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।’’

त्यसैगरी, राष्ट्रपति कार्यालयको प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनबारे संसद्लाई जानकारी गराएको पत्र पनि पढेर सुनाइएको छ ।

नवनिर्वाचित प्रतिनिधि सभामा १२ वटा राजनीतिक दलको प्रतिनिधित्व छ ।

सबै दलका संसदीय दलका नेताहरूले दलीय प्रतिनिधित्वको आधारमा सम्बोधन गर्ने कार्यसूची छ ।

एमालेसहितका राजनीतिक दलहरूको समर्थनमा प्रतिनिधि सभामा तेस्रो ठूलो दलको रूपमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो भने पुस ११ गते ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो ।

प्रधानमन्त्री दाहालले भोलि मङ्गलबार संसदमा विश्वासको मत लिनुहुनेछ । प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल नेपाली काँग्रेस भने प्रमुख प्रतिपक्षको रूपमा छ ।

स्रोत : गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया