प्रतिनिधिसभाको बैठक आजदेखि : यस्ता छन् दुवै सदनको विजनेस

  पुष २५, २०७९

काठमाडौं, पुस २५ : प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अलग अलग सञ्चालन हुनेछन् ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो अधिवेशन र राष्ट्रियसभाको नियमित १३औँ अधिवेशन सुरु हुनेछ । दुवै सदनका बेग्लाबेग्लै बैठकमा साझा कार्यसूचीका रुपमा सङ्घीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ । यस्तै प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रसमेत वाचन गरेर सुनाइनेछ ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । प्रतिनिधिसभाको बैठक सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सञ्चालन गर्नुका साथै सदस्यलाई स्वागत गर्नुहुनेछ । बैठकबाट ज्येष्ठ सदस्यको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्नका लागि प्रतिनिधिसभा नियमावलीअनुसार सात जना सदस्य चयन गरिनेछ । सांसद सदस्य सङ्ख्याका आधारमा कांग्रेस र एमालेबाट द्ुई÷दुई र बाँकी अन्य दलबाट प्रतिनिधित्व हुनेछ ।

नेपालको संविधानअनुसार निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० प्रतिनिधिसभाको बैठक बस्ने प्रावधान छ । यसैगरी पहिलो बैठक प्रारम्भ भएको दिनदेखि १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्छ । सभामुखको निर्वाचन सम्पन्न नभइसकेका कारणले हाल प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले बैठक सञ्चालन गर्नुहुने राससले जनाएको छ ।

बैठकमा ज्येष्ठ सदस्य जबराले यही पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने प्रस्तावबारे जानकारी गराउनुहुनेछ । माओवादी केन्द्रका अध्यक्ष दाहाल यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । नेपालको संविधानको धारा ७६ को उपधारा (२) अनुसार नियुक्त प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभामा १२ राजनीतिक दल र पाँच स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेस ८९, नेकपा (एमाले)का ७८, नेकपा (माओवादी केन्द्र) ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपालका १२, नेकपा (एकीकृत समाजवादी)का १०, जनमत पार्टीका छ, लोकतान्त्रिक समाजवादी पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक-एक तथा स्वतन्त्र पाँच सांसद् छन् ।

पहिलो बैठकमा १६ जनाले सम्बोधन गर्ने

सहायक प्रवक्ता धमलाका अनुसार पहिलो बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलको तर्फबाट संसदीय दलको नेताले सम्बोधन गर्नुहुनेछ । यसअघि गत शुक्रबार बसेको सर्वदलीय बैठकले सो सहमति गरेको थियो । सबै राजनीतिक दलले आफ्नो दलका लागि संसदीय दलको नेता चयन गरिसकेका छन् ।

सोहीअनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने चार जना स्वतन्त्र सांसदले पनि सम्बोधन गर्ने अवसर पाउनेछन् । यसअघि पाँच जना रहेका स्वतन्त्र सांसदमध्ये किरणकुमार साह हालै एमालेमा प्रवेश गर्नुभएको थियो । दलको संसद संख्याका आधारमा समानुपातिक हिसावले नेताहरुको बोल्ने समय निर्धारण गरिने सहायक प्रवक्ता धमलाले बताउनुभयो । यस हिसावले ठूलो दलका नेतालाई बढी समय र साना दलका नेतालाई कम समय उपलब्ध हुनेछ । स्वतन्त्र सांसदहरुलाई बढीमा ५ मिनेट र घटीमा ३ मिनेटसम्म समय उपलब्ध हुने उहाँको भनाइ छ । बढीमा दुई घण्टाभित्र पहिलो बैठक सम्पन्न गर्ने तयारी सचिवालयले गरेको छ ।

शोक प्रस्ताव पारित हुने

पहिलो बैठकमा यसबीचमा निधन भएका तीन जना सांसदहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै संसद बैठकले शोक प्रस्ताव पारित गर्नेछ । सहायक प्रवक्ता धमलाका अनुसार यसबीच स्वर्गीय हुनुभएका नेपाली कांग्रेसका सांसदहरु मैयादेवी श्रेष्ठ (गोरखा) र झुलबहादुर आले रहनुभएको छ । त्यस्तै नेकपा (एमाले) का सांसद बालकृष्ण ढुङ्गेल (ओखलढुंगा) को पनि निधन भएको छ ।

श्रेष्ठ प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य हुनुभएको थियो । उहाँको निधन गत कात्तिक ६ गते ९४ वर्षको उमेरमा भएको थियो । त्यस्तै, ढुंगेल संविधानसभा सदस्य रहनुभएको थियो । उहाँको निधन गत कात्तिक २२ गते ५३ वर्षको उमेरमा भएको थियो । त्यस्तै, सांसद आले पनि संविधानसभा सदस्य रहनुभएको थियो । गत मंसिर ९ गते ७२ वर्षको उमेरमा उहाँको निधन भयो । उहाँहरुको निधनप्रति सदनको दुवै बैठकले शोक प्रस्ताव पारित गर्नेछ ।

सभामुखको निर्वाचन सूचीमा छैन

यसैबीच पहिलो दिनको संसद बैठकको कार्यसूचीमा सभामुख र उपसभामुखको निर्वाचनबारे जानकारी गराउने कार्यसूची तय गरिएको छैन । दलहरुबीच यस विषयमा थप छलफल र गृहकार्य गर्नुपर्ने भएकाले पहिलो दिनको कार्यसूचीमा सो विषय प्रवेश नगराइएको सचिवालयको भनाइ छ । यसअघि दलका नेताहरु सर्वदलीय बैठकमा सोबारे सामान्य छलफल गरेका थिए ।

नियमावलीअनुसार सदनको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्ने व्यवस्था छ । जसअनुसार ढिलोमा माघ १० भित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्छ । यसअघि शनिबार बसेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसको तर्फबाट सभामुखको निर्वाचन माघ ७ गते र उपसभामुखको निर्वाचन ९ गते गर्ने प्रस्ताव गरेको थियो । तर सोबारेमा सचिवालयलाई औपचारिक जानकारी नआएको सचिवालयको भनाइ छ ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसबाट ८९ जना सांसद छन् । त्यस्तै, नेकपा (एमाले) का ७९, नेकपा (माओवादी केन्द्र) ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपालको १२, नेकपा (एकीकृत समाजवादी)का १०, जनमत पार्टीको ६, लोकतान्त्रिक समाजवादी पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ३, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका १-१ र ४ जना स्वतन्त्र सांसद् छन् ।

राष्ट्रियसभा बैठक पनि आजै

यसैबीच राष्ट्रिय सभाको बैठक पनि आज १ बजे बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रतिनिधिसभा बैठकको कार्यसूचीअनुसार नै बैठक सूची तय गरिएको छ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालका अनुसार राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, मन्त्रिपरिषद गठनको जानकारी बैठकलाई गराउने, दलीय हिसावमा संसदीय दलका नेताहरु सम्बोधन गर्ने र शोक प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको छ ।

१३ औं अधिवेशनको पहिलो बैठकमा औपचारिकता धेरै हुने हुनाले बढीमा दुई घण्टाभित्र बैठक सम्पन्न हुने सचिव फुयालले बताउनुभयो ।

दोस्रो बैठक मंगलबार

प्रतिनिधिसभाको दोस्रो बैठक भोलि मंगलबार बस्दैछ । संसद सचिवालयका अनुसार भोलि ११ बजेका लागि बैठक तय गरिएको छ । सो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनुहुनेछ । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका दाहालले १६ दिनपछि विश्वासको मत लिँदै हुनुहुन्छ । संविधान अनुसार प्रधानमन्त्रीमा नियुक्त भएको बढीमा ३० दिन भित्र संसद बैठकबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

पहिलो बैठकको इतिहास

नेपालको संसदीय इतिहासमा पहिलो संसदीय निर्वाचनपछि संसद्‌को पहिलो बैठक २०१६ साल असार १६ गते बसेको थियो। त्यसैले असार १६ लाई संसद् दिवसको रुपमा पनि मनाइन्छ । पहिलो निर्वाचित संसद्‌को पहिलो बैठक मध्यरातमा सुरु भएको थियो । संघीय संसद् सचिवालयले दिएको जानकारी अनुसार तत्कालिन राजा महेन्द्रले प्रतिनिधिसभाको बैठक राति ११ बजेर ४५ मिनेटमा राख्नुभएको थियो ।

 

पहिलो दिनको बैठकमा सभामुख चयन नभएसम्मका लागि गिरिप्रसाद बुढाथोकीलाई कार्यकारी अध्यक्ष तोक्ने पत्र पढेर सुनाइएको थियो । गुल्मी उत्तरपूर्व क्षेत्रबाट सांसद निर्वाचित बुढाथोकीलाई संसद् बैठकको अध्यक्षताका लागि प्रमुख सचिव हंसमान सिंहले शपथ ग्रहण गराउनुभएको थियो । पहिलो दिनको बैठकले लगत्तै असार १८ गते दिनको ३ बजे सभामुखको निर्वाचन गर्ने मिति तय गरेको थियो । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई पहिलो संसद्का सभामुख चयन हुनुभएको थियो । त्यतिबेलाको संसदमा नेपाली भाषा अनिवार्य गरिएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

हेर्नुहोस् सम्भावित कार्यसूची

 

तपाईको प्रतिक्रिया