प्रतिनिधि सभाको पहिलो बैठकको तयारी गर्न सांसदलाई कांग्रेसको निर्देशन

  पुष २३, २०७९

काठमाडौं, पुस २३ : नेपाली कांग्रेसको संसदीय दलको बैठकले प्रतिनिधि सभाको पहिलो बैठकमा सहभागी हुनका लागि आफ्नो तयारी गर्न सांसदलाई निर्देशन दिएको छ।

शनिबार पार्टीको संसदीय दलको काार्यलय सिंहदरबारमा बसेको बैठकले पार्टीका सांसदलाई प्रतिनिधि सभाको पहिलो बैठकमा उपस्थित हुन तयारी गर्न निर्देशन दिएको हो। बैठकले प्रतिनिधि सभाको पहिलो बैठकमा केके हुन्छन् र सांसदले के गर्ने भन्ने बारेमा पनि सांसदलाई जानकारी गराएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो।

उहाँले पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने प्रक्रिया रहेकाले विश्वासको मत लिने प्रक्रियामा पार्टीका सांसदले केके गर्ने भन्ने बारेमा पनि जानकारी गराइएको बताउनुभयो।

कांग्रेस संसदीय दलको अर्को बैठक पुस २६ गते बिहान ९ बजे बस्ने जानकारी गराउनुभयो। उहाँले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने बारेमा भने २६ गतेको संसदीय दलको बैठकले निर्णय गर्ने बताउनुभएको छ।

प्रमुख सचेतक लेखकले सिंगो पार्टी एकबद्ध भएर प्रतिनिधि सभामा सशक्त भूमिका निर्वाह गर्ने बताउनुभयो। बैठकले नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो राजनीतिक दल बनाएको जनतालाई धन्यवाद दिने निर्णय गरेको छ भने संविधान सभा सदस्य प्रतिनिधि सभाको पूर्व सांसद झुलबहादुर आले र मैयादेवी श्रेष्ठप्रति शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ।

स्रोत : गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया