‘सुशासनका लागि संसदीय समिति र सञ्चार क्षेत्र मिलेर काम गर्नुपर्छ’

  पुष २२, २०७९

काठमाडौँ, पुस २२ : राष्ट्रियसभाका सदस्यले मुलुुकमा व्याप्त भ्रष्टाचार न्यूनीकरण गर्न संसदीय समिति र सञ्चार क्षेत्रले मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

दीगो विकास तथा सुशासन समितिद्वारा आज यहाँ आयोजित ‘सुशासन प्रवद्र्धनमा सांसद तथा मिडियाको भूमिका’ विषयक छलफलमा सहभागी वक्ताले राष्ट्र र जनहितका लागि दुवैको भूमिका प्रश्न गर्ने भएकाले मिलेर जान आवश्यक रहेको बताउनुभयो ।

समिति सदस्य बामदेव गौतमले संसद्ले प्रधानमन्त्री बनाउने तथा सांसद मन्त्री हुने शासन प्रणाली गलत भएकाले त्यसलाई नसच्याएसम्म भ्रष्टाचार अन्त्य गर्न चूनौति हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “जसले भ्रष्ट्राचार विरुद्ध आवाज उठाउँछ, त्यसलाई निर्वाचन हराउने प्रवृत्ति बाहिर मात्र होइन, पार्टीभित्र पनि छ, व्यक्ति–व्यक्ति भ्रष्टाचारमा सङ्लग्न छन् । जनतामा आधारित शासन, भ्रष्टाचारलाई फेला पार्ने कानून र त्यसमा संलग्न हुनेलाई कारवाही गरिने संस्कृति र परम्परा बसाल्नेतर्फ जानुपर्छ ।”

समिति सभापति प्रकाश पन्थले सदन वा समितिको बैठकमा व्यक्ति विशेषले बोलेको एउटै शब्द भाइरल हुने तर अर्कोले स्थान नै नपाउने गुनासोलाई सञ्चार क्षेत्रले अन्त्य गर्न सक्नुपर्ने बताउनुभयो ।

विज्ञकारुपमा आमन्त्रण गरिएको पूर्वसचिव शारदाप्रसाद त्रितालले भ्रष्टाचारको स्वरुप र प्रवृत्ति फेरिने भएकाले कानूनलाई सुधार गरी समयानुकूल तुल्याउन सुझाव दिनुभयो ।

वरिष्ठ पत्रकार हरिबहादुर थापाले सुशासनका मुद्दा पछिल्लो समय कम्जोर भएकाले भ्रष्टाचार न्यूनीकरणका लागि दुवैको पहल र प्रयासलाई प्रभावकारी तुल्याउन आवश्यक रहेको बताउनुभयो ।

समिति सदस्य रमेशजङ्ग रायमाझीले भ्रष्टाचार न्यूनीकरण साझा मुद्दा भएकाले त्यसको अन्त्य गर्न जनप्रतिनिधि र सञ्चारजगत मिलेर काम गर्न जरुरी रहेको बताउनुभयो । समिति सदस्य सिंहबहादुर विश्वकर्माले भ्रष्टाचार अन्त्यका लागि शासन प्रणालीदेखि ठूलो नेटसम्म दोषी रहेको विचार प्रकट गर्नुभयो ।

सांसद कमला पन्त र नन्दा चपागाईँले सञ्चार क्षेत्रले दल विशेषका आधारमा नभई स्वतन्त्र भएर समाचार सम्प्रेषण गर्न सुझाव दिनुभयो । समिति सदस्य विमला घिमिरेले भ्रष्टाचार नीति र विधिसँग मात्र नभई नैतिकतासँग जोडिएको हुँदा समाजले पनि निगरानी गर्नुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया