औद्योगिक ग्राम निर्माणमा स्थानीय तह उदासीन

  पुष १२, २०७९

गण्डकी, पुस १२ : गण्डकी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर बोहराले औद्योगिक ग्राम निर्माणका लागि स्थानीय तहहरू उदासीन देखिएको बताउनुभएको छ ।

पर्यटन तथा उद्योग कार्यालय कास्कीद्वारा पोखरा उद्योग वाणिज्य सङ्घसँगको समन्वयमा आज आयोजित व्यवसायीसँगको अन्तक्र्रियामा उहाँले गण्डकीका २५ वटा स्थानीय तहमा उद्योग ग्राम स्थापना भए पनि प्रभावकारी हुन नसकेको बताउनुभयो ।

कास्कीको पुँडीटार र नवलपुरमा औद्योगिक क्षेत्र निर्माणको पहल भएको र त्यसले उद्योग स्थापनामा सघाउने उहाँले बताउनुभयो ।

सङ्घीय सरकारले ल्याएको औद्योगिक व्यवसाय ऐन, २०७६ ले ‘एकल विन्दु सेवा केन्द्र’ को अवधारणा अगाडि सारेको उल्लेख गर्दै ढिलो चाँडो सेवाग्राहीलाई एउटै कोठाबाट व्यवसाय दर्ताका सबै सेवा दिइने सचिव बोहोराले बताउनुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिले व्यवसाय दर्ता, कर चुक्ता र व्यवसाय खारेजी प्रक्रिया सहज हुनुपर्ने बताउनुभयो । घरैबाट व्यवसाय दर्ता हुने र प्रमाणपत्र लिनमात्र जाने व्यवस्था गर्न कठीन नभएको उहाँको तर्क छ ।

पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित निर्देशनालय गण्डकीका निर्देशक प्रवीण ढकालले पछिल्लो समय सरकारी कार्यालय सेवाग्राहीमैत्री हुँदै गएको बताउनुभयो ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, पर्यटन तथा उद्योग कार्यालय कास्कीका प्रमुख शेषकान्त पौडेल, उद्योग अधिकृत महराज ढकाल, कमलप्रसाद कँडेल, घरेलु उद्योग महासङ्घ कास्की अध्यक्ष बलराम गौतमलगायतले सरकारी सेवा प्रवाह, विद्यमान अवस्था आदिबारे आआफ्ना धारणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया