सुदूरपश्चिम, पुस ४ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भाषा, साहित्य, कला र संस्कृतिलाई उजार गर्नसके मात्र नेपालीको पहिचान झल्किने बताउनुभएको छ ।
सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको आज धनगढीमा सञ्चालनमा आएको कार्यालयको शुभारम्भ गर्नुहुँदै प्रतिष्ठानका कुलपति मुख्यमन्त्री भट्टले प्रज्ञा–प्रतिष्ठानले कार्य प्रारम्भ गरेसँगै सुदूरपश्चिम प्रदेशलाई नयाँ पहिचान दिने विश्वास व्यक्त गर्नुभयो ।
समाजलाई व्यवस्थितरूपमा अगाडि बढाउनका लागि साहित्यकार र कलाकारको महत्वपूर्ण भूमिका रहने बताउँदै उहाँले भन्नुभयो, “शान्ति र समृद्धिका लागि पनि साहित्य, कला, भाषा साझा थलो हुनसक्छ ।”
प्रतिष्ठानका सहकुलपति एवं सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले सङ्घीयताको प्रतिफलका रूपमा प्रदेश सरकारले प्रज्ञा–प्रतिष्ठान गठन गर्न सफल भएको बताउनुभयो ।
उहाँले सरकारले प्रतिष्ठानका गतिविधिलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रतिष्ठानका उपकुलपति एवं साहित्यकार डा टिएन जोशीले आउने दिनमा कार्ययोजना बनाएर प्रतिष्ठानले आफ्ना गतिविधि सञ्चालन गर्ने बताउनुभयो ।
समाजिक विकास मन्त्रालयका सचिव दीपक लामिछाने, सुदूरपश्चिम विश्वविद्यालयका डीन मुकुन्द कलौनी, सुदूरपश्चिम साहित्य समाजका उपाध्यक्ष टोपेन्द्र शाह र महाकाली साहित्य सङ्गमका अध्यक्ष हरिश जोशीले भाषा, साहित्य र कलाको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।
सो अवसरमा मुख्यमन्त्री भट्टले सहित्यकार वीरबहादुर चन्द प्रकाशक रहेको डोटेली भाषाको मासिक पत्रिका ‘गुगुल्डि’ को विमोचन गर्नुभएको थियो । प्रदेशसभाले दुई वर्षअघि पारित गरेको सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानसम्बन्धी ऐनबमोजिम प्रतिष्ठानको उपकुलपतिमा धनगढीका साहित्यकार डा टिएन जोशीलाई प्रदेश सरकारले दुई महिनाअघि नियुक्त गरेको थियो ।