मौसमी कामदार व्यवस्थापन निर्देशिका स्वीकृत

  पुष ०४, २०७९

काठमाडौँ, पुस ४ : नेपाल सरकारले मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत गरेको छ । यसैगरी सरकारले अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

सरकारले कालीगण्डकी नदी क्षेत्रबाट दुई थान शिला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराउन स्वीकृति दिने निर्णय गरेको यही पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले जानकारी दिनुभयो ।

यसैगरी खाद्यपदार्थमा हेभी मेटलको अधिकतम मात्रा निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने, नीलगिरि खोला १ र २ जलविद्युत् आयोजनाको २२० केभी प्रसारणलाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ ।

बैठकले माथिल्लो फावाखोला जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने र संरक्षण क्षेत्र भित्रका जलविद्युत् आयोजनाका लागि थप सर्त समावेश गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया