जवातिला जलविद्युत् आयोजना निर्माण हुने

  पुष ०१, २०७९

जुम्ला, पुस १ : जुम्लामा एक सय ५० मेगावाटको जवातिला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणबाट उक्त परियोजना अगाडि बढेको हो ।

प्राधिकरणको करिब रु ३५ अर्ब लगानीमा सो जलविद्युुत् परियोजना अगाडि बढेको कर्णाली प्रदेशका निवर्तमान जुम्लाका सांसद नरेश भण्डारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिले नेपाल विद्युत् प्राधिकरणले प्रक्रिया अगाडि बढाएको छ । जुम्ला र कर्णालीका लागि आफ्नै पानीबाट उत्पादन हुने मेगावाटस्तरको जलविद्युत् क्षेत्रमा बृहत् परियोजना अगाडि बढ्ने भएपछि दीर्घकालीन बिजुलीको व्यवस्थापन हुने भएको छ ।” तिला र जवाको पानी प्रयोग गर्नेगरी परियोजना अगाडि बढेको उहाँले बताउनुभयो ।

उक्त परियोजना कर्णालीकै लाइफ चेन्जर परियोजना हुने भएको छ । सो योजना क्रमागत रहेको छ । जुम्लामा विद्युत् अभावले लामो समयदेखि सकस भइरहेको समयमा राष्ट्रिय प्रसारण लाइन पुगेको छ ।

क्षमता नपुग्दा भरपुर बत्ती प्रयोग गर्न यहाँका नागरिकले नपाएको तिला गाउँपालिका–१ का स्थानीयवासी हरि बुढाले जानकारी दिनुभयो ।

सुर्खेत, दैलेख, कालिकोट हुँदै प्रसारणलाइन जुम्ला पुगेको छ । तिलाजवाको पानी मिसाएर मेगावाटस्तरको बत्ती बलेमा केही राहत हुने यहाँका स्थानीयवासीको भनाइ छ ।

तपाईको प्रतिक्रिया