विश्व शान्तिको कामना गर्दै पोखरामा तोनाग घोसुम पूजा

  पुष ०१, २०७९

लेखनाथ, पुस १ : विश्व शान्तिको कामना तथा पितृ उद्धारका लागि पोखरा–१० को रामघाटस्थित गोपाल गुम्बामा शुक्रबारदेखि त्रिपिटक पाठ वाचन तथा तोनाग घोसुम पूजा सुरु गरिएको छ ।

विश्वमा घटिरहेका हत्या, हिंसाको अन्त्य र पितृ उद्धारका लागि उक्त पूजा गरिएको जानकारी गुम्बाका प्रमुख लामा गोपाल गुरुङले दिनुभयो ।

गुरुङहरूले मान्दै आएको ल्होसार पर्वअन्तर्गत तो ल्हो (बाघ वर्ग) बिदाइ र हि ल्हो ९बिरालो वर्ग० आगमनका अवसरमा विश्व शान्तिका लागि यस्तो पूजाको आयोजना गरिएको जानकारी तमु धिं कास्कीका अध्यक्ष हुम तमुले दिनुभयो ।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले शान्तिका लागि असल भावना, सत्कर्म र अमृत वचन आवश्यक रहेको बताउनुभयो । उहाँले शान्तिबाट नै आनन्दमय जीवन प्राप्त हुने बताउनुभयो । उक्त पूजा १० दिनसम्म चल्ने बताइएको छ ।

उपप्रमुख गुरुङले पल टासी छ्योलिङ गुम्बाले बौद्ध शिक्षा विकासका लागि कक्षा ५ सम्म अध्ययनको व्यवस्था गरिरहेको र पोखरा महानगरपालिकाले माध्यमिक शिक्षासम्म पठनपाठनका लागि समन्वय गर्ने वचनसमेत दिनुभयो ।

सो अवसरमा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, ब्रेज मेश्रो घान्द्रुक तमु समाजका अध्यक्ष सुदर्शन गुरुङ, शान्ता गुरुङ, लामा मीन गुरुलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

उक्त पूजामा विभिन्न जिल्लाबाट बौद्ध उपासक तथा उपासिकाहरूको उपस्थिति रहेको जानकारी गुम्बाका प्रमुख लामा आम्ची गोपाल गुरुङले दिनुभयो ।

तपाईको प्रतिक्रिया