भूमिको उपयोग गरी सहकारीका माध्यमबाट रोजगारी सृजना गरिने : मन्त्री श्रेष्ठ

  मंसिर २९, २०७९

काठमाडौँ, मङ्सिर २९ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भूमिको समुचित उपयोग गरेर सहकारीका माध्यमबाट रोजगारी सृजना गरी विदेश भौँतारिनुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय अनामनगरले आज मन्त्रालयमा आयोजना गरेको प्रगति समीक्षा तथा सहकारी सुशासनको पहिलो अङ्क विमोचन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले स्वदेशमै पाखुरी बजारेर रोजगारी गर्न पाउने व्यवस्था गरेपछि विदेशबाट दैनिकरूपमा शव आउने क्रम पनि रोकिने बताउनुभयो ।

इजरायलको मरुभूमिमा समेत कृषि उत्पादन भइरहेकाले हावापानी नै उर्वर रहेको नेपालमा सहकारीका माध्यमबाट रोजगारी सृजना गर्न सकिने मन्त्री श्रेष्ठको भनाइ थियो ।

“कुनै पनि सहकारी समस्याग्रस्त हुने अवस्था नै नआओस् भनेर पनि यो समितिले अझ धेरै काम गर्नुपर्ने अवस्था छ, रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्ने अवस्था नै आउन नदिनेतर्फ समितिले कार्यक्रम गरिरहेको छ, प्रतिकूल अवस्थाका बावजुद समितिले गरेको काम सराहनीय छ, सहकारीलाई तिनको मूल्य, मान्यता र सिद्धान्तअनुसार अघि बढाउनका लागि जागरण फैल्याउन पनि समितिका काम फलदायी छ”, उहाँले भन्नुभयो ।

हाल देशभर ३२ हजार सहकारी रहेको उल्लेख गर्नुहँदै मन्त्री श्रेष्ठले केही सहकारीमा मात्र समस्या आएको सुनाउनुभयो । समस्या आएका सहकारीका बचतकर्तालाई पनि पैसा फिर्ता गर्न समितिले काम गरिरहेको उहाँले बताउनुभयो ।

नेपालमै पनि राम्रा सहकारी रहेकाले यसको मूल्य मान्यताअनुसार नै सहकारीलाई रोजगारी, उत्पादन वृद्धिजस्ता काममा उपयोग गर्नुपर्नेमा उहाँको जोड थियो ।

मन्त्रालयअन्तर्गतका कानूनलाई एकीकृतरूपमा सुधारका लागि संविधानविद् एवं समितिका अध्यक्ष काशीराज दाहालको अध्यक्षतामा समिति गठन गरिएको जानकारी मन्त्री श्रेष्ठले सो अवसरमा गराउनुभयो । समितिले एक महिनाभित्रमा मन्त्रालयअन्तर्गतका सबै कानून संशोधनको मस्यौदा तयार पार्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

मन्त्रालयका सचिव डा दामोदर रेग्मीले तीन खम्बे अर्थ नीतिको एक प्रमुख खम्बाका रूपमा रहेको सहकारी अभियानलाई उत्पादकत्वका माध्यमबाट रोजगारी सृजनामा लगाउन सहकारीको योगदान रहेको बताउनुभयो । थोरै सहकारीले गल्ती गर्दा दोष सबैले पाएकाले थोरैका पनि समस्या समाधानका लागि समिति गठन गरिएको उहाँले जानकारी दिनुभयो ।

सहकारीमा भइरहेका असल अभ्यासलाई बाहिर ल्याउँदै सहकारी संस्कृतिको विकास गरिनुपर्नेमा जोड दिनुहुँदै सचिव रेग्मीले संस्थागत संरचना धेरै बनाउँदैमा काम नहुने बताउनुभयो । कुन निकायले के काम गर्ने भन्ने निश्चित गरेर सहकारी क्षेत्रमा आएका समस्या समाधानका लागि ठोस काम गरिने प्रतिबद्धता उहाँको थियो ।

समितिका अध्यक्ष काशीराज दाहालले गरिबी निवारणका लागि सहकारीलाई माध्यम बनाउनुपर्नेमा जोड दिनुहुँदै लोकतान्त्रिक प्रणालीमा पारदर्शिताका लागि वार्षिक प्रगति र बुलेटिन सार्वजनिक गरिएको जानकारी दिनुभयो ।

बचतकर्ताको सहमतिमा स्ट्याण्डर्ड मल्टिपर्पोज कोअपरेटिभ लिमिटेडको समस्या समाधान भएको उहाँको भनाइ थियो । बाँकी ११ समस्याग्रस्त सहकारी संस्थाका बचतकर्तालाई पनि पैसा फिर्ता दिन विभिन्न काम भइरहेको अध्यक्ष दाहालले सुनाउनुभयो ।

समितिको सदस्य सचिवसमेत रहनुभएका कार्यालय प्रमुख केशवप्रसाद पौडेलले सहकारीलाई समस्याग्रस्त हुनै नदिन सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले सातै प्रदेशमा ७७ वटै जिल्लाका स्थानीय तहलाई समेटेर कार्यक्रम भइरहेको जानकारी दिनुभयो । यस्ता कार्यक्रम सहकारीमा सुशासन प्रवद्र्धनका लागि उपयोगी हुने विश्वास गरिएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया