वाद र विचारभन्दा माथि उठ्न जरुरी : महामन्त्री शर्मा

  मंसिर २०, २०७९

बनियानी, मङ्सिर २० : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकासका लागि वाद र विचारभन्दा माथि उठेर समृद्धिको साझा खाका बनाउन जरुरी रहेको बताउनुभएको छ ।

झापा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा विजय भएको सन्दर्भमा आज धुलाबारीमा आयोजित आभार समारोहलाई सम्बोधन गर्दै उहाँले मतदातासमक्ष गरेका वाचा पूरा गरेरै छाड्ने दृढतासमेत व्यक्त गर्नुभयो ।

“लोपोन्मुख तथा अल्पसङ्ख्यक समुदाय, महिला, मजदुर सबै व्यक्तिले देश विकासमा आ–आफ्नो स्थानबाट योगदान गरिरहनुभएको छ”, उहाँले भन्नुभयो, “देश बनाउने काम मन्त्री र प्रधानमन्त्रीको मात्रै होइन, देश बनाउने भूमिका सबैले निर्वाह गरिरहेको हुन्छ ।”

त्यस्तै नवनिर्वाचित प्रदेशसभा (१) का सदस्य गोपाल तामाङले आफूले गरेका वाचा पूरा गर्ने उल्लेख गर्दै मतदातालाई कहिल्यै निराश नबनाउने उल्लेख बताउनुभयो । प्रदेशसभा (२) उपविजेता श्यामवीर लिम्बूले चुनावमा हारे पनि जनजीविकासँग जोडिएका हरेक काममा सक्रिय भएर लाग्ने बताउनुभयो ।

आभार समारोहमा कांंग्रेस केन्द्रीय सदस्य गोमा भट्टराई, कांग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डे, संविधानसभा सदस्य उषा गुरुङ, कांग्रेस नेता राम कट्टेल, कांग्रेस झापा १ का क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, नेकपा (एकीकृत समाजवादी) का झापा सचिव विपी भट्टराई, उपाध्यक्ष सविता भेटवाल, नेकपा (माओवादी केन्द्र)का नेता राजु दाहाललगायतले चुनावी समीक्षाका साथ आ–आफ्नो धारणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया